१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महोत्तरीमा सवारी दुर्घटनाबाट ३१ जनाले ज्यान गुमाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४२:oo

चालू आर्थिक वर्षको पुस मसान्तसम्म महोत्तरीमा ३१ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। मधेश प्रदेशभर सो अवधिमा दुई सय ५५ जनाले ज्यान गुमाएका छन्।

महोत्तरीको दुई सय ६५ सहित प्रदेशमा भएको कुल चार हजार चार सय ७७ सवारी दुर्घटनामा सो संख्यामा मृत्यु भएको हो।  मृत्यु हुनेहरूमा महिला र पुरुषसँगै बालबालिकासमेत छन्।

ठूला, मझौला र साना सवारीसाधनहरूबाट भएका दुर्घटनाबाट महोत्तरीमा ८४ जना गम्भीर र तीन सय २५ जना सामान्य घाइते भएका छन्। मधेश प्रदेशमा कुल पाँच हजार ६६ जना घाइते भएका तथ्यांक छ।

ट्राफिक प्रहरीले निरन्तर चेकजाँच, कारबाही र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि दुर्घटनामा भने कमी आउन सकेको छैन। मुख्य तथा भित्री सडकहरूमा समेत ओभर स्पिड तथा मादक पदार्थ सेवनका कारण दुर्घटना हुने संख्या धेरै छ। केही दुर्घटना भने मौसमका कारणसमेत भएको देखिन्छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार जिल्लामा भएका सवारी दुर्घटनाहरूमध्ये मोटरसाइकल दुर्घटनाको संख्या धेरै छ। हेल्मेट नलगाउने, मापसे गरी सवारी चलाउने, एउटै मोटरसाइकलमा तीनदेखि चारजना बस्ने, ओभर स्पिड र सवारीचालक अनुमतिपत्र नभएकाहरू बढी दुर्घटनामा परेका उनको भनाइ छ। भट्टराईले अहिले बाक्लो हुस्सुका कारणसमेत सवारी दुर्घटनाहरू भइरहेको थपे।

महोत्तरीमा यस अवधिमा कुल २३ हजार तीन सय ४८ सवारी कारबाहीमा परेका छन्। तीमध्ये सबैभन्दा बढी १२ हजार पाँच सय २८ मोटरसाइकललाई कारबाही गरिएको छ। यसैगरी, ४चार हजार आठ सय २८ कार–जिप र चार हजार ९८ ट्रक कारबाहीमा परेका छन्। महोत्तरीमा  जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित गौशाला, रामगोपालपुर, जलेश्वर, औरही, मटिहानी, पिपरा, लोहारपट्टी, बलवा, खैरवनी, माईस्थान र गौरीडाँडा गरी कुल १२ युनिटबाट भएको सो कारबाहीबाट एक करोड ९१ लाख ९६ हजार पाँच सय रुपैयाँ जरिवाना असुल गरिएको छ।

चालू आवको पुस मसान्तसम्म मधेश प्रदेशभर एक लाख १८ हजार आठ सय नाै सवारी कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट १० करोड पाँच लाख ५८ हजार नाै सय एक रुपैयाँ जरिवाना असुल गरिएको छ।

प्रहरी निरीक्षक भट्टराई जनशक्ति अभावका कारण काम गर्न समस्या भएको बताउँछन्। जनशक्ति थपिए जिल्लामा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सकिने उनको भनाइ छ।

राडारसमेत बिग्रेर काम नलाग्ने भएकाले सिसिटिभी फुटेज र अन्य माध्यमको सहायताले काम गरिरहेको उनले बताए। भट्टराईले मापसे चेक गर्ने यन्त्रसमेत थोरै भएकाले चेकजाँचमा समस्या रहेको थपे।

ad
ad