
पश्चिम नवलपरासीमा लुटेराहरूको समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार बर्दघाट- १६ निवासी ६५ वर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।
सुनचाँदी लुट्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गोली प्रहारबाट घाइते विश्वकर्मालाई तत्काल बर्दघाटको चिसापानी अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलस्थित तिनाउ अस्पतालमा पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
सुस्ता गाउँपालिका– १ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा बर्दघाट नगरपालिका– १६ केराबारीनजिकै शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए । उनको पाखुरामा गोली लागेको छ ।
लुट्ने उद्देश्यले गोली प्रहार गरेको प्रहरीले जनाए पनि सुनचाँदी व्यवसायी विश्वकर्माले गरगहना सँगै नल्याएका कारण लुटेराहरूले उनलाई लुट्न नपाएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको डिएसपी बोहराले बताए । विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत आक्रमणकारी समूहले लिएर भागेका थिए । उक्त स्कुटर घटनास्थलदेखि चार किलोमिटर पर फेला परेको प्रहरीले जनाएको छ ।