१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १६:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘बन्दै गरेको पक्की घर देख्दा सपनाजस्तो लाग्छ’

मुहसर बस्तीमा निर्माणाधीन पक्की घरले ल्यायाे खुसी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o६:oo

सिराहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँकी ५५ वर्षीया कुसुम सदाय निर्माणको अन्तिम चरणमा रहेको पक्की घर देख्दा नै फुरुंग छिन्। 

दुई छोरा, बुहारी, नाति, नातिनी गरी नौजनाको परिवारले पक्की घरको ओत पाउने भएपछि सदाय फुरुंग भएकी हुन्।    

‘मजदुरी गरेर जीविका चलाउनुपर्ने भएकाले पक्की घर बनाउने त सोच्न पनि सकेका थिएनौँ,’ भावुक हुँदै उनले भनिन्, ‘वडाध्यक्षको पहल र समन्वयमा वर्षौँदेखि बस्दै आएको पुरानो झुपडी भत्काएर बन्दै गरेको पक्की घर देख्दा पनि सपनाजस्तो लाग्छ।’ 

उनकै छिमेकी रहेकी करिब ३७ वर्षीया सम्तोलिया सदायको पनि घर बन्न थालेदेखि खुसीको सीमा छैन। श्रीमान् बितेपछि मजदुरी गरेर चार छोराछोरीको लालनपालन गर्दै आएकी उनले भनिन्, ‘मजस्ती विपन्न, एकल महिलाका लागि वडा कार्यालयको पहलमा घर निर्माण हुँदै छ, घर बनेपछि सुरक्षित हुने भएकीले ढुक्क छु।’

मुसहर बस्तीमा चार घर निर्माण

तराई मधेश समृद्धि कार्यक्रमको सहयोगमा नगरपालिकामार्फत ‘मुसहर बस्तीमा आवास निर्माण’अन्तर्गत गत २८ मंसिरदेखि थालिएका चारवटा घरमध्ये दुईवटामा जस्ताको छाना हालिसकिएको र बाँकी दुईवटामा दुई दिनभित्र हालिसक्ने गरी काम भइरहेको वडाध्यक्ष सूर्यमान तामाङले बताए।

उनका अनुसार माघ मसान्तसम्म घरको प्लास्टर सकिएपछि झ्यालढोका हालेर सम्बन्धित परिवारलाई घर हस्तान्तरण गरिँदै छ।

कुल २७ लाख १२ हजार दुई सय ५१ रुपैयाँ ५२ पैसा बजेट रहेको घर निर्माणका लागि तराई मधेश समृद्धि कार्यक्रमको २४ लाख २५ हजार र आवास निर्माण उपभोक्ता समितिले दुई लाख ८७ हजार दुई सय ५१ रुपैयाँ ५२ पैसा व्यहोर्ने गरी काम भइरहेको उपभोक्ता समितिकी अध्यक्ष इन्दुकुमारी सदायले बताइन्। 

आगामी ३० असारमा सम्पन्न गर्ने सम्झौता भए पनि बढीमा तीन हप्ताभित्र निर्माणसम्बन्धी सबै काम सम्पन्न गरी सम्बन्धित परिवारलाई घर हस्तान्तरण गरिने उनले बताइन्। 

बस्तीका बाँकी ४२ घर पनि निर्माणको माग

धनगढीमाई १० को जिरोमाइल हुँदै सर्रे अम्बास जाने सडक खण्डको भोर्लेनी गाउँको विपन्न मुसहर बस्तीको ४७ घरधुरी ऐलानी र गाउँब्लकमा रहेको स्थानीय समाजसेवी महेश्वर श्रेष्ठले बताए। 

उनका अनुसार तराई मधेश समृद्धि कार्यक्रमको सहयोगमा निर्माणको अन्तिम चरणमा रहेको चार घर, गत असारमा प्रदेश सरकारको महेन्द्रनारायण निधि आवास परियोजनाअन्तर्गत घर निर्माणपछि पनि बस्तीमा अझै ४२ घरधुरी झुपडीमा छन्। 

गरिब र अति विपन्न भोर्लेनी गाउँको मुसहर बस्तीमा वडा कार्यालयको बजेटबाट भए पनि बाँकी घर निर्माण गरी उनीहरूको सुरक्षित बसोवासका लागि काम गर्न जरुरी रहेको उनले बताए। 

‘स्थानीय सरकारले पनि काम गर्ने त जनताकै लागि हो, आर्थिक रूपले नसक्नेहरूका लागि कम्तीमा सुरक्षित बसोवासको काम गर्दा दिगो र उपलब्धिमूलक पनि हुन्छ,’ उनले भने।