१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १२:४९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

किसानले सुन्तला बेचेरै गरे करोडौँ आम्दानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

बागलुङको सुन्तला गाउँका रूपमा परिचित सिगानाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर रु. तीन करोड भित्र्याएका छन्। 

गत वर्षभन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो। यस वर्ष उनीहरूले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए। बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु. ५० पर्न गएको छ। 

यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ। गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरणसमेत हुँदै आएको छ। 

बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु. तीन करोड भित्र्याउन सफल भएका हुन्। सहकारीले संकलन गरेको तथ्यांकअनुसार गत वर्ष सुन्तला बिक्रीबाट रु. दुई करोड ७५ लाख भित्र्याइएको थियो। यस वर्ष रु. तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहे पनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन्। 

अहिले सहकारीले सुन्तला बिक्रीको तथ्यांक संकलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए। सिगाना गाउँको साबिक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिए। 

आठ रोपनी जग्गामा व्यावसायिक सुन्तला खेती गरेका अनन्तबहादुर खड्काले यस वर्ष पाँच लाख ५० हजारमा सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताउनुभयो। उहाँले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने पोहोरकै भएकाले आम्दानी पनि उस्तै भएको बताए। 

सिगानाका किसानले न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म सुन्तलाको बिक्री गर्दै आएका छन्। खड्काका अनुसार पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले यहाँका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन्। बगैँचा विस्तार र मलजलको उचित व्यवस्था भए सुन्तलाको उत्पादन राम्रो हुने उनको भनाइ थियो। 

यस वर्ष सुन्तलाको दाना राम्रो फलेको भन्दै किसान रामबहादुर खड्काले अधिकांश किसानले बोट नै ठेक्कामा दिएकाे बताए। उनका अनुसार नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छन्। सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइराखेका छन् भने ४० हजारभन्दा बढी नयाँ बिरुवा हुर्किरहेका छन्। 

सुन्तला जोन क्षेत्रमा समेटिएको सिगानामा ६ वर्षअघिदेखि व्यावसायिक सुन्तला खेती वृद्धिका लागि अन्य रुख फँडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो। अहिले प्रतिकिलो होलसेल मूल्य रु ५० देखि ६० का दरले बिक्री भइरहेको छ। 

सिगानाको बेँसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ। सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुन्डे, लेखानी, सर्कुवा र दमेकलगायत स्थान सुन्तला खेतीका लागि उर्बर मानिन्छन्। 

जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए। उनका अनुसार समग्र जिल्लामा यस वर्ष रु. २० करोडको सुन्तला उत्पादन भएको छ।