काठमाडौं महानगरपालिकाले फोहाेरको दिगो व्यवस्थापनका लागि घरेलु फोहाेर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ।
अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ। केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहाेर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ।
कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहाेर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुनः उक्त प्रक्रिया सुरु गर्न लागिएको हो।
वर्गीकरण गरिएको फोहाेर व्यवस्थापन गर्ने बन्चरेडाँडामा पनि स्थान पहिचानको काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए। फोहाेर वर्गीकरणसँगै कामपाले वर्गीकरण गर्दा निस्किएका पुनः प्रयोग गर्न सकिने फोहाेरजन्य सामग्री बिक्रीको प्रबन्ध गरिने पनि महानगरले जनाएको छ।
श्रेष्ठका अनुसार स्रोतमा नै फोहाेरको वर्गीकरण गर्नुको फाइदा र आवश्यकताबारे पहिलो चरणमा नगरवासीलाई जानकारी गराइने बताइएको छ।
कसरी गर्ने फोहाेर वर्गीकरण
भान्सामा कुहिने र नकुहिने गरी दुई खालको फोहाेर जम्मा हुन्छ। कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो। नकुहिने फोहाेर उत्पादक आफैँले बेच्न सक्छन्। कुहिने फोहाेर उत्पादकले नै मल बनाउन सकिन्छ। मल बनाउन सकिएन भने कामपाबाट फोहाेर संकलन गर्न आएको सवारीसाधनमा राखेर पठाउन सकिन्छ।
तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा, मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पात कुहिने फोहाेर हुन्। यस्तै, प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहाेर हुन्।
यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्याद नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिई), पञ्जा, फुटेका सिसा, घरआँगन बढार्दा आएको धुलो तथा माटो पनि फोहाेरका रूपमा संकलन हुन्छ। हिजोआज सहरी क्षेत्रमा सेनेटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहाेरको मात्रा बढ्दै गएको छ।
यस्तो फोहाेर कुहिने र नकुहिने भाँडामा नराखी अर्को छुट्टैमा राख्नुपर्छ। फोहाेरलाई आवश्यकता हेरी छुट्टाछुट्टै भाँडामा राख्नु वर्गीकरण हो। वर्गीकरणका फोहाेर व्यवस्थापन गर्न विभागले सोहीअनुसारको गाडीको व्यवस्था गरिरहेको छ।