मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o माघ १८ बिहीबार
  • Wednesday, 16 July, 2025
२o८o माघ १८ बिहीबार १५:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अन्तिम मनोनयन दस्ताबेज पेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १८ बिहीबार १५:१८:oo

प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को, विश्व सम्पदा केन्द्रमा पेस भएको छ। फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज पेस गरेका हुन्।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्ताबेज पेस भएको जानकारी दिएका छन्।

‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रुपमा दुर्हाम विश्वविद्यालयका प्रोफेसरको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रा लागि मात्रै होइन, सम्पदाप्रेमी सबैका लागि खुसीको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ। तिलौराकोट सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएकाले सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा गरिएको सदस्यसचिव शाक्यले बताएका छन्।

युनेस्को जापानीज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटाइएको थियो। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरूबाट आवश्यक सहयोग साधन, स्राेतको सुनिश्चितता सरलता र मार्गनिर्देशका लागि निर्देशक समितिसमेत गठन गरिएको थियो। उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ।

सरकारले ०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि नीति, कार्यक्रम र बजेटमा राखेको थियो। विश्व सम्पदा समितिको ४५औँ बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो।

अन्तिम मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदाका रूपमा दर्ताका लागि विधिवत् रूपमा प्रक्रिया अघि बढेको कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए।  

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण र आधारहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूले रणनीतिक दस्ताबेजमा सामेल गरिसकेको विज्ञप्तिमा उल्लेख छ।  युनेस्कोले सन् १९९६ मै ऐतिहासिक तथा पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो।