
पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दै छन् ।
पोखरा रंगशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो । आजको विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ । विजेताले माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
विभागीय टोली आर्मीले प्रतियोगिताको प्रिक्वार्टरफाइनलको खेलमा राइजिङ स्टार एफसी र क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
यसैगरी, चर्च ब्वाइजले क्वार्टरफाइनलमा सीधै स्थान पाएको थियो । क्वार्टरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको टोली हो । थ्री स्टार क्लब बुधबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरी उपाधिनजिक पुगेको हो ।
यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु. १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीलाई रु. ६ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही रु. २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता थियो ।