१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ३ बिहीबार १o:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तातोपानी नाकामा आयातसँगै मानवीय  गतिविधि बढ्यो

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३३:oo

विनाशकारी भूकम्पको पाँच वर्षपछि खुलेको तातोपानी नाकामा व्यापारिक गतिविधि बर्सेनि सुधारोन्मुख रहेको पाइएको छ । दुई वर्ष कोरोनाले थला परे पनि हालको व्यापारिक अवस्था सन्तोषजनक रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । गत सालभन्दा यो वर्ष आयात दर ५० प्रतिशतले बढेको छ ।  नाकामा मानवीय गतिविधिमा फेरबदल आएको छ । स्थानीय मात्रै होइन, बाहिरका मानिस पनि व्यापार गर्न तातोपानी पुगेका छन् । नेपाल चेम्बर अफ कमर्स भोटेकोसीका अध्यक्ष फुनु शेर्पाले दैनिक २० भन्दा बढी चिनियाँ टेलरले लार्चा सुक्खा बन्दरगाहमा सामान ल्याउने गरेको बताए । 

भूकम्पले भत्केको घर मर्मत गरेर नयाँ होटेल र पसल सञ्चालन गरिएका छन् । मितेरीपुलपारि चिनियाँ क्षेत्रबाट घरायसी सामान, ब्ल्यांकेट र इलेक्ट्रोनिक सामग्री धमाधम ल्याउन थालिएको छ । चिनियाँ क्षेत्रमा नेपालीका लागि  नयाँनयाँ  पसल सञ्चालन गरिँदै छन् । नेपालबाट पनि चिनियाँ क्षेत्रमा खाद्यान्न, हस्तकला  र घरायसी सामग्री निकासी हुन थालेको छ । चीनलाई ट्रान्जिट बनाएर नेपाल हुँदै तेस्रो मुलुकमा पनि सामान जान थालेका छन् । नेपाली बाटो भएर जापानमा चौधरी ग्रुपको चाउचाउ जान थालेको छ । नेपालबाट जापान र भियतनाममा सामान जाने तातोपानी भन्सारले जनाएको छ ।

हरेक शनिबार तातोपानीमा मानिसको भिड नै लाग्छ । घुम्न र तातोपानी धारा नुहाउन पुग्ने आन्तरिक पर्यटकले सीमाक्षेत्र भरिभराउ हुन्छ । सिन्धुपाल्चोकवासीबाहेकलाई चिनियाँ क्षेत्र प्रवेश अनुमति छैन । जिल्लाबाहिरका पर्यटकले मितेरी पुल पुगेर सामान किन्ने गरेका छन् । चिनियाँ क्षेत्रमा सञ्चालन भएका होटेल र पसलमा केही सीमावासीले रोजगार पाएका छन् । चिनियाँ क्षेत्रमा दिनहुँ पुग्ने नेपालीले तिब्बतमूलका मानिससँग भेटेर व्यापार बढाउने विषयमा छलफल गरिरहेका छन् । तातोपानी भएर आउने चिनियाँ पर्यटक पनि दिनदिनै बढेको अध्यागमन कार्यालय कोदारीले जनाएको  छ । 

खासा नयाँ सहर बन्दै
भूकम्पले आंशिक क्षति गरेको खासा बजारलाई नयाँ सहरका रूपमा स्थापना गर्ने चीन सरकारको अभियान सुरु भएको छ। तिब्बत स्वशासित क्षेत्र तिब्बतको खासालाई चिनियाँहरू जाङमपोर्ट भन्छन् । एक चिनियाँ अधिकारीले दिएको जानकारीअनुसार जाङमपोर्ट अब नयाँ सहरका रूपमा उदाउनेछ । खासा सहर स्थापना गर्न केही वर्ष लाग्नेछ । भर्खर घरहरू भत्काउन सुरु गरिएको ती अधिकारीले प्रस्ट्याए । नेपाल र चीनको सम्बन्ध पुरानो र गाढा रहेकाले तातोपानी नाकालाई आधुनिक र व्यवस्थित बनाउन चीन सरकार चाहन्छ । खासाभित्र तीन मिटर चौडा सडक तयार हुँदै छ । नेपाली गाडी राख्ने पार्किङसहित ठुल्ठूला होटेल बन्दै छन् । 

सीमाको सुरक्षाका लागि नेपाल–चीनका सुरक्षाकर्मीले मिलेर काम गर्नेछन् । सहर स्थापनापछि कैलाशमान सरोवर जाने भारतीय धार्मिक पर्यटक तातोपानी भएर जानेछन् । खासा क्षेत्रको भौगोलिक सुरक्षाका लागि चीन सरकारले धमाधम काम गरिरहेको छ । खासा नयाँ सहरको रूपमा स्थापना हुँदा सीमावर्ती भोटेकोशी र बाह्रबिसेका जनतालाई धेरै टेवा पुग्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए । ‘भूकम्पपछिका पीडादायी दिन बिताइरहेका व्यापारी र व्यवसायी चीनसँगको पुरानो नाका चलायमान हुँदा उत्साही छन्,’ उनले भने । चीनको उत्तरी नाकामध्ये सबैभन्दा छोटो दूरीको भएकोले तातोपानी–खासाको भविष्य उज्यालो रहेको उनले प्रस्ट्याए । खासामा व्यापार, डिपार्टमेन्ट स्टोर र स्थानीय बासिन्दाको बस्ती अलगअलग रहने सिटी प्लानिङ रहेको चिनियाँ भनाइ उद्धृत गर्दै उनले भने ।

ट्रान्सपोर्टका स्टाफलाई १० दिन छुट्टी 
यो साल चिनियाँ नयाँ वर्ष स्प्रिङ फेस्टिभल र तिब्बती समुदायले मनाउने ल्होसार एउटै समयमा परेको छ । फेब्रुअरी ९–१० चिनियाँ नयाँ वर्ष हो । गत वर्षतिर स्प्रिङ फेस्टिभल र ल्होसार एक महिनाको अन्तरमा पर्थ्याे । दुवै पर्वमा रमाउने चिनियाँहरूलाई सरकारले केही दिन बिदा दिन्छ । 

नेपाल–चीन व्यापार गर्ने चार ट्रान्सपोर्ट कम्पनी सिल्क, खासा, मुसा र आडोले अत्यावश्यक काम नरोकीकन स्टाफहरूलाई १० दिनको छुट्टी दिएको छ । फेब्रुअरी ५ देखि १५ तारिखसम्म लोड–अनलोड गर्ने मजदुर घर जाने भएकाले इमर्जेन्सी सामग्री मात्रै आयात हुन्छ । यद्यपि, नाका बन्द हुनेछैन । नेपाल–चीन दुवैतर्फबाट बिदा घोषणा गरिएको छैन । ‘अत्यावश्यक सामग्री निरन्तर आइनै रहन्छन्,’ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले भने । केरुङबाट आउने रेडिमेडका सामान अहिले खासा सिफ्ट भएको र पर्वअघि नै सामान काठमाडौं पुर्‍याउनुपर्ने भएकोले दैनिक ५० गाडीसम्म आयात भएको केसीले बताए । 

राजस्व असुली ६८ प्रतिशत 
आर्थिक वर्ष ०८०/८१ मा राजस्व असुलीको अवस्था निकै सन्तोषजनक रहेको छ । तातोपानी भन्सारले पुससम्म राखेको राजस्वको तोकिएको लक्ष्यभन्दा ३८ प्रतिशत बढी असुली गरेको छ । तीन अर्ब ५९ करोड ६ लाख ५१ हजारको पुससम्मको राजस्व लक्ष्यमा चार अर्ब ९९ करोड ४७ लाख २८ हजार असुल भयो । जुन लक्ष्यभन्दा ३८ प्रतिशत बढी हो । 
आर्थिक वर्ष ०८०/ ८१ का लागि राखेको आठ अर्ब ४२ करोड ४८ लाख १७ हजारमा १५ माघसम्म पाँच अर्ब ७१ करोड ४८ लाख १७ हजार असुली भइसकेको छ ।

तातोपानी भन्सारका प्रवक्ता  सूर्यप्रसाद काफ्लेले दिएको जानकारीअनुसार सात महिना १५ दिनमा ६८ प्रतिशत राजस्व असुल भएको र बाँकी पाँच महिनामा भन्सारले राखेको वार्षिक  लक्ष्य सहजै प्राप्ति हुने अवस्था छ। अन्य नाकाबाट आयातका वस्तु घटेको समाचार आइरहँदा तातोपानीमा भने बढेको र हालसम्म ६८ प्रतिशत राजस्व संकलन  भइसकेको काफ्लेले बताए ।
 

ad
ad