मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस काभ्रेपलाञ्चोक
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेका भूमिहीनलाई जग्गा प्रदान गर्ने तयारी

Read Time : < 1 मिनेट
रासस, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको छ । सो कार्यका लागि पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुमवासी, भूमिहीन–दलित र अव्यवस्थित बसोवास गर्दै आएका नागरिकलाई निस्सा वितरण गर्न लागिएको हो । 

राष्ट्रिय भूमि आयोग जिल्ला समितिले यही माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गर्न लागेको समिति सदस्य राम लामाले जानकारी दिए। उनका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेक अन्य गाउँपालिकामा भूमिहीनको लगत राख्ने काम भइरहेको छ । जिल्लाका अन्य स्थानीय तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण गर्न लागिएको हो ।

समितिका अनुसार जिल्लामा भूमिहीन–सुकुमवासी, भूमिहीन–दलित, अव्यवस्थित बसोवासीका लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोला गाउँपालिकाबाट काम सुरु गरिएको हो । जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई निस्सा वितरण गर्न लागिएको छ । जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिकाको कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट दाबी विरोध नभएको र पीडितको प्रमाणबमोजिम निस्सा दिइने लामाले बताए।

खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्यद्वय वासुदेव हुमागाईं र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाको सहभागितामा स्थानीय सहजीकरण समितिबाट निस्सा वितरण तथा नक्सापास सुरु गर्ने निर्णय गरिएको हो । समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोवासी, ४० सुकुमवासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुमवासी छन्।

यस्तै, आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुमवासी एक सय २६, भूमिहीन सुकुमवासी पाँच सय ३४ तथा अव्यवस्थित बसोवास गर्नेको संख्या तीन हजार एक सय ७३ रहेको तथ्यांक छ । उनीहरूले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेकाले समिति छानबिनको प्रक्रियामा रहेको जानकारी दिइयो ।