१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
आइतबार होटेल सोल्टीमा आयोजित नेपाल–चीन सम्बन्धबारे अन्तक्र्रिया । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सबै दलका नेतालाई एउटै मञ्चमा राखेर चिनियाँ नेतृ सुनले भनिन्– नेपाल–चीन सम्बन्ध र बिआरआईबारे भ्रम फैलाइयो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:२३:oo

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलले प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरूसँग नेपाल–चीन सम्बन्धबारे छलफल गरेको छ । आइतबार आयोजित छलफलमा सिपिसी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयानले नेपाल–चीन सम्बन्धमा भ्रम उत्पन्न गर्न र खेल्न खोज्नेहरू धेरै भएको आरोप लगाइन् । तर, उनले नेपाल–चीन सम्बन्धमा भ्रम छर्नेहरू को हुन् भन्ने खुलाइनन् । 

माल्दिभ्सका राष्ट्रपतिदेखि उच्च अधिकारी भेटेर नेपाल आएकी सुनले भूराजनीतिक संकेत गरेकी थिइन् । ‘हाम्रो सम्बन्धमा भ्रम उत्पन्न गर्न खोजिएको छ । हाम्रोबीचमा खेल्न खोज्नेहरू धेरै छन्,’ सुनले भनिन्, ‘नेपाल–चीन सम्बन्ध एकल गायन प्रस्तुति मात्रै होइन, यो बहुआयामिक छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । क्षेत्रीय विभाजन हटाएर देशहरूबीच सहकार्यमा जोड दिनुपर्छ,’ उनले भनिन् । विश्व परिस्थिति अशान्त र तरल रहेको उल्लेख गर्दै उनले नेपाल–चीन सम्बन्ध यो समयमा झन् महत्वपूर्ण रहेको बताइन् ।

होटेल सोल्टीमा आयोजित छलफलमा उपमन्त्री सुनले यस वर्ष नेपाल–चीन सम्बन्धको योजना बनाउने समय रहेको पनि बताइन् । ‘दुई देशका जनताको सम्बन्धमा विश्वास अघि बढाउने गरी काम गर्नुपर्ने समय आएको छ । यसमा मिलेर योजना बनाउनुपर्छ,’ उनले भनिन् । 

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि सुनको समर्थन गर्दै नेपाल–चीन सम्बन्धमा भ्रम उत्पन्न गर्न खोजिएको, तर त्यसको स्रोत आफूले भन्न नचाहेको टिप्पणी गरे । ‘सञ्चारमाध्यममा नेपाल–चीन सम्बन्धबारे गलत प्रचार भएको छ । यसको स्रोत उल्लेख गर्न चाहन्न । तर, गलत प्रचार भएको छ,’ उनले भने, ‘बिआरआईबारे गलत प्रचार भएको छ । बिआरआई परियोजना धेरै चिनियाँ अनुदानबाट अघि बढेका छन् । तर, यसबारे गलत प्रचार भइरहेको छ । नेपालको चीनमा न्यून ऋण छ, तर चिनियाँ ऋणजाल भनिएको छ । नेपाललाई चीन धेरै नै सहयोग गर्न चाहन्छ । बिआरआईले नेपाललाई डुबाउँदैन,’ उनले भने । 

चिनियाँ राजदूत सोङले नेपालमा होङ्सी सिमेन्टको स्थापना गेम चेन्जर रहेको जिकिर गरे । ‘अन्य गेम चेन्जर परियोजना पनि अघि बढाउनुपर्छ,’ उनले भने, ‘कृषि उत्पादन बढाउने, विदेशमा नेपालका उत्पादन निर्यात गर्ने काम गेम चेन्जर हुन सक्छन् ।’ नेपाललाई आधुनिक कृषि प्रधान देश बनाउनुपर्ने उनको भनाइ थियो । ‘पशुपालन र पशुजन्य उत्पादन निर्यात पनि गेम चेन्जर हुन सक्छ । यसका लागि पूर्वाधार तयार गर्नुपर्छ,’ उनले भने । नेपालमा चिनियाँ परियोजना कार्यान्वयनमा भएको ढिलाइबारे नेपालले आत्मसमीक्षा गर्नुपर्ने उनको संकेत थियो । ‘किन ढिलाइ भएको छ भनेर धेरैले सोध्नुहुन्छ । तपाईंहरू आफैँले आफैँलाई सोध्नुस् त,’ राजदूत सोङले भने, ‘नेपालमा मात्रै किन चिनियाँ वा चिनियाँ संलग्नताको परियोजना समयमा सम्पन्न हुँदैन ? हामी मित्रका रूपमा सँगै बसेर समाधान खोज्नुपर्छ । समस्याको स्रोत र समाधानमा जानुपर्छ ।’ 

 नेताहरूले भने– चीनले सम्झौता कार्यान्वयन गरोस् 
एमाले महासचिव शंकर पोखरेलले एक चीन नीति नेपालले व्यावहारिक रूपमा कार्यान्वयन गर्दै गएको बताए । ‘ताइवान स्वतन्त्रताको विपक्षमा नेपाल छ । हङकङ, मकाउ, तिब्बत चीनका अभिन्न अंग हुन् भन्नेमा नेपाल स्पष्ट छ,’ उनले भने, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीतिको प्रशंसा गर्दछौँ ।’ 

पोखरेलले नेपालमा चिनियाँ ठूला परियोजना आवश्यक रहेको बताए । विगतमा चिनियाँ अनुदानमा निर्माण भएका बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज उद्योगलगायत सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्ने उनले बताए । ‘हामी बिआरआई कार्यान्वयनको पक्षमा छौँ,’ उनले भने, ‘चिनियाँ परियोजना समयमै सम्पन्न हुनुपर्छ । कोभिडका वेला बन्द भएका केही नाका खुलेका छन्, चीनले सबै नाका खोल्नुपर्छ । कोदारी राजमार्ग, रसुवागढी, स्याफ्रुबेँसी बाटो स्तरोन्नति हुनुपर्छ ।’ चीनबारे भएका प्रचारबारे चिन्ता नलिन उनले आग्रह गरे । ‘विश्व राजनीतिको उतारचढावमा विभिन्न कुरा आउँछन् । नेपाल–चीन सम्बन्धबारे उत्पन्न भएका भ्रमको निवारण हामी गर्छौँ, तपाईंहरूले चिन्ता लिनुपर्दैन,’ पोखरेलले भने । नेपाल भ्रम हटाउन सक्षम रहेको र चीनले विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने उनले बताए । 

कांग्रेस नेता डा. शशांक कोइरालाले कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध रहेको बताए । ‘छिमेकीसँग पञ्चशीलका आधारमा सम्बन्ध सुदृढ गर्ने चीनको प्रयासलाई कांग्रेस समर्थन गर्दछ । नेपाल–चीन सम्बन्धलाई कांग्रेसले उच्च महŒव दिएको छ,’ उनले भने, ‘हामी चीनको सुरक्षालगायत चासोप्रति संवेदनशील छौँ र त्यही चाहन्छौँ ।’ चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनको रूपान्तरण उदाहरणीय भएको उनले बताए । नेपाल र चीनबीच राजनीति, अर्थतन्त्र र सुरक्षामा सहकार्य गर्नुपर्ने उनको भनाइ थियो । ‘छिमेकीहरूसँग सम्बन्ध विस्तार गर्ने हाम्रो नीति हो । विशाल जनसंख्या र बजार (चीन र भारत)सँग नेपाल सहकार्य गर्न चाहन्छ,’ उनले भने । 

राप्रपा नेता सगुन लावतीले दुई देशबीच सुखदुःखको समावेशी र आपसी सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिए । जसपा नेता अर्जुन थापाले बिआरआईबारे नेपाल र चीनबीच साझा बुझाइको कमी रहेको भन्दै यसबारे साझा धारणा तय गरेर अघि बढ्नुपर्ने बताए । रास्वपाका नेता शिशिर खनालले नेपालको आर्थिक विकासमा चीनसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले नेपाल–चीन सम्बन्ध सुमधुर हुनुपर्ने बताइन् । माले महासचिव सिपी मैनाली, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सिपी गजुरेल, धर्मेन्द्र बास्तोला, जनमत पार्टीका नेताहरू पनि छलफलमा सहभागी थिए । तर, उनीहरूले बोल्ने अवसर पाएनन् । 

चिनियाँ टोलीले आइतबार साँझ माओवादीका दोस्रो तहका नेताहरूसँग रात्रिभोजसहित छलफल गरेको पार्टी सचिव गणेश साहले जानकारी दिए । सुन हैयानले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे र रास्वपा सभापति रवि लामिछानेसँग भेटेकी थिइन् । सुनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेकी छन् ।

ad
ad