१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मिसन– २०२६ बारे जानकारी दिँदै राखेप सदस्यसचिव टंकलाल घिसिङ
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o७:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राखेप ‘मिसन– २०२६’ : २०औँ एसियन खेलको तयारी आजबाट

दुई वर्षपछि हुने जापान एसियाडका लागि तेक्वान्दो, कराँते, उसु, बक्सिङ र जुडो राखेपको प्राथमिकतामा

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:३o:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित ‘मिसन– २०२६’ को घोषणा गरेको छ । गत असोजमा चीनको हाङझाउमा भएको १९औँ  एसियाडमा नेपालले कराँतेमा रजत तथा कबड्डीमा एक कांस्य पदक जितेको थियो । १९औँ एसियाडको सकिएको चार महिनापछि सदस्यसचिव टंकलाल घिसिङले ‘मिसन– २०२६’ घोषणा गरेका हुन् । २०औँ एसियाड जापानमा हुँदै छ ।

जापानमा हुने एसियाडका लागि दुई वर्षअगावै राखेपले पाँच खेललाई प्राथमिकतामा राखेको छ । राखेपले तेक्वान्दो, कराँते, उसु, बक्सिङ र जुडोमा ठूलो लगानीसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ । ‘इतिहासमै पहिलोपटक एसियाडका लागि दीर्घकालीन तयारी गर्दै छौँ, सधैँ पदकको आशा गर्ने, तर तयारी कमजोर हुने परिपाटी छ, यसको अन्त्य गर्दै ऐतिहासिक रूपमै लामो तयारी सुरु गर्ने निर्णय गरेका हौँ,’ घिसिङले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘नयाँ उद्देश्य र लक्ष्य प्रतिबद्धताका साथ बढेका छौँ, यसमा पाँच खेललाई उच्च प्राथमिकतामा राखेका छौँ ।’

जापानमा हुने एसियाडमा दोहोरो अंकमा स्वर्ण ल्याउने लक्ष्यसहित पहिलो चरणमा पाँच खेलका ५० खेलाडीले सोमबारबाट प्रशिक्षण सुरु गर्नेछन् । राखेपले खेलाडीलाई प्रत्येक दिनको खुराक खर्च प्रतिव्यक्ति तीन सय दिने घोषणा गरेको छ । यसैगरी प्रतिव्यक्ति आठ हजारको किट्स सेट उपलब्ध गराउनेछ । घिसिङले यस तयारीले फाइनल खेल्ने मात्रै नभई एसियाडमा स्वर्ण पदक ल्याउने नै दाबी गरेका छन् । 

‘फाइलन पुग्नु आफैँमा ठूलो पक्ष हो, तर स्वर्ण ल्याउने पहिलो लक्ष्य छ । हामीले लक्ष्य किटान गरेका छौँ,’ उनले भने । उनले पहिलो चरणमा समावेश भएका पाँचै खेलका संघलाई जिम्मेवारीसहित प्रशिक्षण चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए । कोरोना महामारीका कारण एसियाली खेलकुद एक वर्ष धकेलिएको हो । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता तीन वर्षपछि नै आयोजना हुँदै छ ।

पहिलो चरणमा पाँच खेलमा ५० खेलाडी 
मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा तेक्वान्दो, कराँते, उसु, बक्सिङ र जुडोको प्रशिक्षण हुनेछ । राखेपले संघद्वारा छनोट भएका प्रत्येक खेलका समान १० खेलाडीलाई प्रशिक्षणको अवसर दिएको छ । सदस्यसचिव घिसिङले पहिलो चरणको प्रशिक्षणपछि अन्य खेललाई पनि समावेश गर्ने बताएका छन् । उनले पाँचौँ एसियाली पारा खेलकुदको पनि तयारी सुरु गर्ने बताए । विशेष प्रशिक्षणमा पाँच खेलका २९ पुरुष र २१ महिला खेलाडी छन् । प्रत्येक खेलका लागि समान दुई गरी १० प्रशिक्षक खटिनेछन् । 

सदस्यसचिव घिसिङले बजेट अभावका कारण तत्काललाई पाँच खेलको प्रशिक्षण सुरु गरेको बताए । उनले छिट्टै अन्य खेलको प्रशिक्षण सुरु गर्ने जनाए । ‘यी पाँच खेलसँगै केही राम्रो सम्भावना भएका खेल पनि देखेका छौँ । दक्षिण एसियामा हक्कीको पनि सम्भावना छ,’ उनले भने, ‘बजेट अभावका कारण सबै खेललाई समावेश गर्न सकेनौँ, सरकारलाई ध्यानाकर्षण गराएका छौँ ।’ राखेपले प्रशिक्षणमा रहेका सबै खेलाडीको बिमा गर्ने भएको छ । यसैगरी खेलाडीलाई विभिन्न कर्पाेरेट संघ–संस्थाबाट प्रायोजन गराउने लक्ष्य रहेको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बताए । ‘प्रशिक्षण अवधिमा खेलाडीको फिटनेस, स्ट्रेन्थ पावर, ट्रेनिङ, डाइट एन्ड न्युट्रिसन र डोपिङसम्बन्धी कार्यक्रम रहनेछन्,’ विष्टले भने । 

सरकारसँग ९४ करोड माग
राखेपले सरकारसँग तीन वर्षको योजनाका लागि ९४ करोड माग गरेको छ । राखेपले नियमित प्राप्त हुने ६४ करोडलाई जोड्ने छैन । राखेपले थप माग गरेको ९४ करोडबाट खेलाडीलाई वैदेशिक प्रशिक्षण तथा स्वदेशी प्रशिक्षणमा खर्च गर्नेछ । ‘यो देशको प्रतिष्ठासँग जोडिएको विषय हो ।  बजेटको खाका तयार गरेका छौँ, सरकारले साथ दिनेमा विश्वस्त छौँ,’ घिसिङले भने । उनले दुई सय ४० खेलाडीलाई प्रशिक्षणमा राखिने खाका बुझाएको जानकारी दिए । नयाँ आर्थिक वर्षको बजेटमा सरकारले यो योजना पूरा गर्न साथ दिनेमा विश्वस्त रहेको बताए । चालू बजेटबाट राखेपले ४० लाख खर्च गर्नेछ । 

देशकै प्रतिष्ठासँग जोडिएको विषय हो 
टंकलाल घिसिङ, सदस्यसचिव, राखेप

देशकै प्रतिष्ठासँग जोडिएको विषय हो । सरकारले साथ दिनुपर्छ । ऐतिहासिक कार्यको सुरुवात गरेका छौँ । सुरुवाती चरणमा पाँच खेल भए पनि बिस्तारै संख्या थप्छौँ । नयाँ उद्देश्य र लक्ष्यका साथ अघि बढेका छौँ । यसलाई उच्च प्राथमिकतामा राखेका छौँ । फाइनलमा पुग्नु आफैँमा ठूलो कुरा हो । स्वर्ण ल्याउने पहिलो लक्ष्य छ । 

ad
ad