१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १२:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सफा पानी पिउने याङ्ग्रीवासीको चाहना पूरा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

आमायाङ्ग्रीबाट झरेको याङ्ग्री र पाँचपोखरीबाट आएको लार्के खोलाको दोभानमा एउटा विकट तामाङ गाउँ छ याङ्ग्री। पाँचपोखरी थांपाल गाउँपालिका– २ मा पर्ने यो तटीय गाउँलाई भोताङबाट तलतिर गएको कच्ची बाटो र झोलुंगेपुलले जोडेको छ। 

पर्यटकीय गन्तव्य पाँचपोखरी र धार्मिक पर्यटनस्थल आमायाङ्ग्रीको काखमा रहेको यो गाउँ प्राकृतिक दृष्टिकोणले धेरै सुन्दर छ। प्राकृतिक सम्पदाले सम्पन्न भएर मात्रै मानिसको जीवन सुखी नहुँदोरहेछ। जीवन सहज बनाउन पहिलो कुरा त सफा खानेपानी चाहिन्छ। खानेपानी, सडक, बिजुली, स्वास्थ्य संस्था र विद्यालय राम्रो भएमात्रै जनजीवन सहज बन्छ। 

वर्षाैँदेखि याङ्ग्रीका स्थानीयले खोलाको धमिलो पानी पिउनका लागि प्रयोग गर्दै आए। धमिलो पानी पिउँदा विभिन्न रोगले सताएर शारीरिक विकासमा गम्भीर असर पर्‍याे। ४७ घरधुरी रहेको यहाँ तीन सयजति जनसंख्या छ। 

याङ्ग्री र लार्के खोलामा बगेको पानी सोझै पिउँदा हैजा, झाडापखाला र छालासम्बन्धी रोग लागेर मानिसको अकाल मृत्युसम्म भएको थियो। यो क्रम लामो समयदेखि चल्दै आयो। 

बर्खायाममा बाढी आउँदा महिनाभर खानेपानी अभाव हुन्थ्यो। अझ विनाशकारी भूकम्पपछि पहिरो खसेर खोलामा जाने बाटो नै बन्द भयो। याङ्ग्रीवासीले आफ्नो अत्यन्तै जरुरी समस्या स्थानीय सरकारसमक्ष धेरैपटक राखे। तर, कहिल्यै सुनुवाइ भएन। 

अन्ततः जनहित नेपाल नामक सामाजिक संस्था संयोगवश त्यस गाउँमा पुग्यो। जनहित नेपालका कार्यकारी निर्देशक राजेन्द्र शर्मा याङ्ग्रीवासीका लागि समाधान भएर त्यहाँ पुगे। शर्माले इटालियन दाता ओट्टो एट पर मिल्ले चिइसा भाल्डेसे यसिया नामक संस्थासँग साझेदारी गरेर एक विद्यालयसहित ४८ घरमा आँगनमै सफा खानेपानी खस्ने पक्की धारा बनाइदिए। 

गत असोजबाट सुरु गरेर चार महिनाको समयावधिमा खानेपानीको काम सम्पन्न भयो । ३८ लाख लागतमा निर्माण सम्पन्न भएको खानेपानी योजना भिरपहरामा रहेको मुहानबाट ल्याइ १८ हजार घनमिटर क्षमताको ट्यांकीमा जम्मा गरेर प्रत्येक घरका लागि पानी वितरण गरिएको छ। 

सफा खानेपानी पाएपछि ५८ वर्षीय मिठु विक र ३० वर्षीया रिना स्याङ्बोजस्तै सबै स्थानीय खुसी भएका छन्। सफा मुहानबाट ल्याइएको पानीको सुरक्षा, धारावरिपरिको सरसफाइ, मर्मतसम्भार गर्ने तरिकाबारे इन्जिनियर सन्देश श्रेष्ठले उपभोक्तालाई तालिम पनि प्रदान गरेका छन्। विकट गाउँको दुःख बुझिदिएकोमा इटालियन दातालाई स्थानीयले धन्यवाद दिएका छन्।