१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दिक्तेल बजारको रत्नपार्क, बेसक्याम्प, हाटडाँडालगायतका विभिन्न ठाउँमा खुद्रा पसलमा बिक्रिको लागि बोतलमा राखिएको पेट्रोलियम पदार्थ । तस्बिर : नयाँ पत्रिका
२०८० माघ १४ आइतबार ०९:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियममा कालोबजारी तोकिएभन्दा दोब्बर मूल्यमा बिक्री 

दिक्तेल बजारमा साढे दुई लिटरपेट्रोल चार सय ७० देखि सात सय रुपैयाँसम्ममा बिक्री 

Read Time : > 1 मिनेट
२०८० माघ १४ आइतबार ०९:०२:००

दश स्थानीय तह रहेको खोटाङमा एउटा मात्रै पेट्रोलपम्प सञ्चालनमा छ । दिक्तेल बजारनजिकै दिक्तेल–हलेसी सडकखण्डमा सञ्चालित हलेसी आयल ट्रेड एन्ड सप्लायर्समा नेपाल आयल निगमले तोकेको मूल्यमा नै पेट्रोल पाइन्छ । तर पेट्रोलपम्पबाट करिब पाँच सय मिटरयता (भोजपुरतर्फ) पर्ने दिक्तेल बजारका अधिकांश पसलमा अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री भइरहेको छ । नियमन गर्ने निकाय भने आँखा चिम्लिएर बसेका छन् । 

दिक्तेल बजारको रत्नपार्क, बेसक्याम्प, हाटडाँडालगायतका विभिन्न ठाउँमा खुद्रा पसलमा साढे दुई लिटरको बोतलमा पेट्रोल चार सय ७० देखि सात सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । 

आयल निगमले तोेकेअनुसार दिक्तेलमा सञ्चालित पेट्रोलपम्पमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७१ रुपैयाँ ५० पैसा मात्रै छ । ‘व्यापारीहरूले दिनानुदिन अवैध रूपमा पेट्रोल बेच्छन् । कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्न कोही लागिपर्दैनन् । पेट्रोलपम्पबाट पेट्रोल ल्याएर तेब्बर मूल्य लिएर कालोबजारी गरिहेका छन्,’ एक उपभोक्ताले भने, ‘कतिपय बाहिरबाट आएका मानिसलाई पेट्रोलपम्प कहाँ छ भन्ने नै थाहा छैन । तर, जिल्लाकै उपभोक्ता पनि चर्को मूल्यमा खरिद गर्न बाध्य छन् ।’

जिल्लामा पर्याप्त पेट्रोलपम्प नहुनुले पनि व्यापारीहरूले त्यसको फाइदा उठाइरहेका छन् । ‘मध्यपहाडी लोकमार्गले छोएका कारण जिल्लामा सवारीसाधनको चाप बढिरहेको छ । मुलुकमा आएको सङ्घीयतासँगै गाउँ–गाउँमा सवारीसाधनको पहुँच बढ्दो अवस्थामा छ,’ स्रोतले भन्यो, ‘अझ गाउँघरमा त एक जम्बो तेल हाल्न सक्ने स्थिति नै छैन । गाउँ–गाउँमा अवैध तरिकाले पेट्रोल बिक्री भइरहेको छ । स्थानीय सरकारसमेत चुप लागेर बसेको छ ।’

पेट्रोलपम्पले सवारीसाधनमा भर्नेबाहेक खुला रूपमा बिक्री–वितरण गर्न मनाही गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारी पवित्रप्रकाश शाहले बताए । ‘उपभोक्ता ठगिएकोबारे अहिलेसम्म कुनै पनि गुनासो आएको छैन् । खुद्रा पसलका व्यापारीले बोतलमा पेट्रोल भरेर बिक्री–वितरण गरेका रहेछन् भने अनुगमन गरी कारबाही गर्छौँ,’ उनले भने, ‘पेट्रोलपम्पभन्दा बाहिर राखेर पेट्रोलियम पदार्थ बिक्री गर्नु नियमविपरीत हो । यदि त्यस्तो भएको पाइएमा सम्बन्धित व्यक्ति कारबाहीको भागीदार हुन्छन् ।’

दिक्तेल बजारसँगै जिल्लाका सबै स्थानीय तहका मुख्य बजारहरूमा समेत अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरण भइरहेको छ । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले सोही खुद्रा पसलमा अवैध रूपमा बिक्रीका लागि राखिएको पेट्रोलियम पदार्थ चर्को मूल्यमा खरिद गरेर प्रयोग गर्दै आएका छन् । पेट्रोलियम पदार्थ खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर–पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने जोखिम हुन्छ । उसो त, पेट्रोलपम्पबाट पनि खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्वलनशील पदार्थ बिक्री–वितरण गर्न पाइँदैन ।