१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:o९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसबाट ४५ जना स्वदेश फर्किए 

आफन्त फर्काउन माग गर्दै १५० निवेदन, रुसमा ज्यान गुमाएका  १० जनाको शव ल्याउन नेपालले पहल गरे पनि तत्काल देखिएन सम्भव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o९:oo

युक्रेनसँगको युद्धका कारण बढ्दो तनावपछि रोजगारीका लागि रुसमा पुगेका ४५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । मस्कोस्थित नेपाली राजदूतावासको समन्वयमा उनीहरू विभिन्न मितिमा स्वदेश फर्केका हुन् । 

मस्कोस्थित नेपाली राजदूतावासले पछिल्लोपटक रोजगारीका क्रममा पुगेका ४५ जना नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि समन्वय गरेको छ । ‘पासपोर्ट दलालको कब्जामा रहेका नेपालीहरू पनि समन्वयका लागि आएका थिए । उनीहरूलाई आवश्यक ट्राभल डकुमेन्ट बनाएर पनि दूतावासले स्वदेश फर्कन समन्वय गरेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘रुसमा लाखौँ खर्च गरेर पुगेका नेपालीलाई नेपाली दलालले नै थप पैसा लिने गरेको विवरण पनि प्राप्त भएको छ । यसको पनि छानबिन भइरहेको छ ।’ 

निवेदन अझै पनि आइरहेका छन् : प्रकाशमणि पौडेल, 
महानिर्देशक, कन्सुलर सेवा विभाग रुसमा रहेका आफन्तलाई स्वदेश फिर्ताका लागि आग्रह गर्दै परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा हालसम्म परिवारजनका १५० जनाले निवेदन दिएका छन् । अहिले पनि रुसमा रहेका आफन्तजनले स्वदेश फिर्ता गराइदिन निवेदन दिने क्रम रोकिएको छैन । रुसबाट नेपाली राजदूतावासको समन्वयमा नेपालीहरू स्वदेश पनि आइरहेका छन् ।

अर्कोतर्फ रुसमा रहेका आफन्तलाई स्वदेश फिर्ताका लागि आग्रह गर्दै परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा हालसम्म परिवारजनका एक सय ५० जनाले निवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले रुसमा रहेका आफन्तजनले स्वदेश फिर्ता गराइदिन निवेदन दिने क्रम नरोकिएको बताए । ‘त्यहाँ रहेका आफन्तलाई स्वदेश फर्काउन पहल होस् भनेर निवेदन आइरहेका छन् । रुसबाट नेपाली राजदूतावासको समन्वयमा नेपालीहरू स्वदेश पनि आइरहेका छन्,’ महानिर्देशक पौडेलले भने । 

युक्रेनमा बन्दी रहेका चारजना नेपालीका परिवारले पनि परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत बन्दी छुटाउने पहल गर्न भन्दै निवेदन दिएका छन् । रुसी सेनामा कार्यरत नेपालीमध्ये युक्रेनसँगको युद्धका क्रममा युक्रेनी सेनाको नियन्त्रणमा चारजना पुगेका छन् । उनीहरूमा राजापुर– १ बर्दियाका विवेक खत्री र मण्डन देउपुर– ६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ– २ मोरङका विकास राई र रुन्टीगढी– ८ रोल्पाका प्रतीक पुन छन् । 

युक्रेनमा नेपालीको रिहाइका लागि सरकारले अमेरिका र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत प्रयास गरिरहेको छ । यता, युक्रेनका अधिकारीले उनीहरूको नियन्त्रणमा रहेका युद्धबन्दी नेपालीलाई नेपालमा पनि जेलमा राख्नुपर्ने सर्त राखेका थिए । यसमा नेपालले जवाफ दिएको छैन । 

रुसी सेनामा रहेका ६० जनाभन्दा बढी व्यक्तिका परिवारजनले रुसी सेनामा कार्यरत सन्तान सम्पर्कविहीन भएको भन्दै खोजी गरेर स्वदेश ल्याइदिन पनि कन्सुलर विभागमा निवेदन दिएका छन् । परिवारले दिएको निवेदनअनुसार रुस–युक्रेन युद्धमा परेर घाइते भएका नेपालीले पनि स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । तर, रुसी कानुनअनुसार उनीहरूलाई स्वदेश फर्काउने प्रयास हुन नसकेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । 

रुसमा ज्यान गुमाएका १० जनाको शव ल्याउन नेपालले पहल गरे पनि तत्काल सम्भव देखिएको छैन । रुसले युद्धमा मारिएका नेपालीको शव राखेको छ । तर, सैनिक सम्मानका साथ रुसमै अन्त्येष्टि गरिदिने रुसी प्रस्ताव छ । जानकारका अनुसार रुसी कानुनअनुसार रुसी सेनामा कार्यरत व्यक्तिको शव विदेश पठाउन सहज छैन । नेपालले चाहिँ शव ल्याउन सम्भव नभए मृतकको अस्तु भए पनि नेपाल ल्याउनुपर्ने बताएको छ । 

रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनसँगको लडाइँमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी, कुन्दनसिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ । 

यसैबीच, नेपालले रुसी सेनामा भर्ती भएका नेपालीको संख्या मागेकोमा रुसले अहिलेसम्म जवाफ नपठाएको परराष्ट्रका उच्च अधिकारीले बताए । ‘रुसले चाहेको सूचना दिएको छ, हामीले चाहेको सूचना पाइएको छैन । तर, प्रयासरत छौँ,’ परराष्ट्रका एक अधिकारीले भने । सरकारले १६ साउन र १८ मंसिरमा विज्ञप्ति जारी गरी युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान सबैलाई सचेत गरेको भन्दै भर्तीका लागि रुस नजान आग्रह गर्दै आएको छ ।