१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख १८ मंगलबार १३:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्युत् पुगेपछि मकैखेतीले हराभरा पाखो जमिन

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:४९:oo

सिन्धुलीको क्यानेश्वर क्षेत्रमा विद्युत् पुगेपछि पाखो जमिन मकैखेतीले हराभरा हुन थालेको छ। हरिहरपुरगढी गाउँपालिका– ५ स्थित क्यानेश्वर क्षेत्रका किसानहर सिँचाइको व्यवस्था भएपछि विकासे (हाइब्रिड) मकै उत्पादनमा आकर्षित भएका हुन्।

यस क्षेत्रका पाखो जग्गा केही समयअघिसम्म बाँझो रहने गरेका थिए। किसानलाई आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता थियो। वर्षा भए बाली हुने, नभए बाँझै रहने पाखा अहिले मकैले हराभरा भएका हरिहरपुरगढी– ७ माथिल्लो पथराईका ८० वर्षीय किसान छत्रबहादुर मैनालीले बताए।

यस क्षेत्रमा विश्व बैंकको लागानीमा विद्युतीकरण भएको थियो। बिजुलीको सुविधा आएपछि किसानले धमाधम कृषि मिटर राखेर मोटरमार्फत क्यानखोलाको पानी पाखो खेतमा पुर्‍याउन पाएका वडाध्यक्ष बिचबहादुर मोक्तानले जानकारी दिए। एक बाली पनि मुस्किलले हुने पाखामा अहिले किसानले गैरी खेतमाझैँ वर्षमा तीन बालीसम्म भित्र्याइरहेका उनको भनाइ छ। ‘मुस्किलले हिउँदे मकै मात्र हुने पाखाखेतमा अहिले सबै बाली, फलफूल हुन थालेको छ,’ उनले भने।

यस क्षेत्रमा यसअघि पनि सीमित किसानले खोलानजिकैका टार खेतहरूमा डिजेल पम्पसेटबाट पानी पठाएर खेती गर्दै आएका थिए। यसरी खेती गर्दा कुनै सिजन उत्पादनभन्दा धेरै लागत लाग्ने गरेको किसानको अनुभव छ। डिजेल पम्पसेटबाट खेतमा पानी लगाएका किसानले प्रतिघन्टा चार सय रुपैयाँसम्म तिर्नुपर्थ्याे । तर, बिजुलीबाट १०–१२ घन्टासम्म पानी पठाएको ५० रुपैयाँ मात्र लाग्ने गरेको स्थानीय किसान वकिल कुँवरले बताए।

‘केही वर्ष पहिलासम्म यही पाखो खेतहरूमा खेती गर्दा मुस्किलले ६ महिनाको छाक जोहो हुन्थ्यो,’ उनले भने, ‘तर, सिँचाइ हुन थालेपछि उत्पादन बढेको छ। अन्नबाली मात्र होइन, फलफूलजन्य उत्पादनसमेत हुने गरेको छ।’ कुँवरले तीन बिघा क्षेत्रफलमा सानो कागती, निबुवा, सुन्तला, जुनार, मरिच, टिमुरलगायतको खेती गरिरहेका छन्।

अन्न बिक्रीबाट स्थानीयले मनग्य आम्दानीसमेत गर्दै आएका छन्। हरिहरपुरगढी गाउँपालिका– ६, ७ र ८ नम्बर वडाका लगभग दुई सय बिघा क्षेत्रफलमा अहिले हाइब्रिड मकैखेती भइरहेको कृषि शाखाको तथ्यांक छ। किसान विकासे मकैतर्फ आकर्षित हुन थालेपछि गाउँपालिकाले समेत किसानलाई सहुलियत उपलब्ध गराएर सामूहिक खेतीका लागि प्रोत्साहन गर्न सुरु गरेको जनाएको छ।

किसानको समूहलाई सहुलियतमा कृषि मिटर, मकैको बिउविजन, मलखादलगायतका सामग्री उपलब्ध गराउने योजना बनाएको गाउँपालिका कृषि शाखा प्रमुख प्रवेश देवकोटाले बताए। उनका अनुसार यहाँका किसानले प्रतिकट्ठा चार क्विन्टलसम्म मकै उत्पादन गर्ने गरेका छन्।

ad
ad