मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस काठमाडाैं
Invalid date format o८:३१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

आजदेखि स्वस्थानी व्रतकथा    

Read Time : > 2 मिनेट
रासस, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३१:oo

आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको वास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघस्नान, स्वस्थानी व्रत एवं कथावाचन सुरु गरेर यी देवीदेवताको पूजा–आराधना सुरु गर्दै छन् ।

वैदिक सनातन धर्मावलम्बी पनि विशेष गरी नेपालमा बसोवास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू धर्मावलम्बीले कमै मात्र यो विधिबाट पूजा–आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक परम्पराको रूपमा रहेको छ । नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन् ।

नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरू देशमा नभेटिएको बताउँछिन् । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रूपमा कार्यरत छिन् । वैदिक सभ्यताका विषयमा नेपालमै अध्ययन–अनुसन्धान गर्ने थोरै पश्चिमा खोजकर्तामध्ये जेसिका पनि एक हुन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघस्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्ध्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीतछोरालाई एवं मीतछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ,’ उनले भने ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किलाेमिटरको दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु गरिँदै छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुन्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्।

यस वर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शालीनदीमा आजदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।