मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
रासस दमौली
Invalid date format १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँका भूमिहीन सुकुमवासीलाई जग्गा वितरण गरिने

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
Invalid date format १६:१६:oo

राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। २०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलोपटक भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो।

आयोगको गत पुस २३ गतेको निर्णयअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराइने आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार आँबुखैरेनी गाउँपालिका– २ का १३ जनालाई जग्गा वितरण गर्न लागिएको हो। उनले भने, ‘निजहरूलाई माघ २ देखि १५ दिनभित्र जग्गा दर्ताका लागि आयोगको कार्यालयमा परिवारकाे मूली र निजको पति वा पत्नी उपस्थित हुन सूचना जारी गरिएको छ।’

आयोग गठन भएपश्चात् पहिलोपटक जिल्लामा भूमिहीनलाई जग्गा वितरण गर्न लागिएको उनको भनाइ छ। अधिकारीले भने, ‘यसअगाडि गाउँपालिकाले निस्सा वितरण गरेका उक्त वडाका व्यक्तिहरूको जग्गा नापजाँचपश्चात् दाबी पुगेका १३ जनालाई जग्गा वितरण गर्न लागिएको हो, पालिकाबाट १६ जनाको नाम आए पनि तीनजनाको जग्गा देखिएकाले १३ जनालाई जग्गा वितरण गर्छौँ।’

आयोगका अध्यक्ष अधिकारीका अनुसार निकट भविष्यमै देवघाट गाउँपालिका– ५ र शुक्लागण्डकी नगरपालिका– २ मा पनि भूमिहीन सुकुमवासीलाई जग्गा वितरणको तयारी गरिएको छ। 

आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका– ५, व्यास नगरपालिकाका केही वडामा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको निवेदनको निस्सा वितरण गरिएको छ।

जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुमवासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोवासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ। जिल्लाको आँबुखैरेनी–२, देवघाट– ५ देउपुर टोल र शुक्लागण्डकी– ७ स्याउली बजार, बन्दीपुर– १ मा जग्गा नापजाँच भइरहेको छ।