१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ७ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ ७ आइतबार o९:o८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हटलाइन सेवा प्रभावकारी  बनाउँदै ऊर्जा मन्त्रालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ७ आइतबार o९:o८:oo

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउन लागेको छ । विनासूचना बिजुली काट्ने, विद्युत् प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिने, बिजुलीको मिटर नदिनेलगायत समस्याहरू आइलागे ग्राहकले मन्त्रालयको पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्छन् । 

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बिहीबार हटलाइन सेवामा कार्यरत मन्त्रालय र प्राधिकरणका कर्मचारीसँग छलफल गरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । ‘नागरिकले प्रत्यक्ष रूपमा गुनासो गर्न सक्ने सो सेवालाई प्रभावकारी बनाउन के–कस्ता उपाय अवलम्बन गर्नुपर्छ, त्यसका लागि मन्त्रालयले आवश्यक प्रबन्ध गर्नेछ,’ उनले भने, ‘सरकारी निकायले सकेसम्म सेवाग्राहीको गुनासो नआउने गरी काम गर्नुपर्छ, समस्या आएमा गुनासो गर्ने निकायका रूपमा रहेको प्रणालीलाई झनै व्यवस्थित बनाउनुपर्छ ।’ 

नागरिकले प्रत्यक्ष भोगेका र अनुभव गरेका गुनासो सुन्ने मात्रै नभई त्यसको समाधानका लागि समेत हटलाइन सेवामा कार्यरत कर्मचारीले विशेष ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । उनले भने, ‘गुनासो आउनेबित्तिकै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुस् । समस्या समाधानका लागि जनशक्ति परिचालनको प्रबन्ध गर्न पहल गर्नुस् । नागरिकले सेवा सहज तरिकाले पाउनुपर्छ । कुनै पनि बहाना गर्न पाइँदैन र मिल्दैन ।’ 

मन्त्री बस्नेतले गुनासो टिपाउन सहज रूपमा प्राधिकरणका सबै कार्यालय तथा वितरण केन्द्रमा सूचना पार्टी राख्न र यसअघि राखिएको भए थप व्यवस्थित गर्नसमेत निर्देशन दिए । ‘कतिपयले त गुनासो गर्ने माध्यम थाहा नपाएर पनि बसेका हुन्छन्, उनीहरूलाई सहज तवरले गुनासो गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘जिल्लामा रहेका एफएम रेडियो वा अन्य सञ्चारमाध्यमबाट पनि प्रचारप्रसार गरी सो सेवाका बारेमा जानकारी गराउन आवश्यक व्यवस्था मिलाइनेछ ।’ 

सरकारले पैसा नलाग्ने नम्बर यसअघि नै सञ्चालनमा ल्याएको थियो । सो हटलाइनमा दैनिक औसतमा चार दर्जन हाराहारी गुनासो आउने गर्छन् । गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिए । लाइन काटिएको, भोल्टेज कम आएको जस्ता गुनासाहरू बढी आउने गरेको उनको भनाइ छ । मन्त्री बस्नेतले ग्राहकका सबै गुनासोलाई आफ्नै समस्या सम्झेर समाधान गर्नका लागि सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउन जरुरी रहेको बताए ।