१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विपतजन्य जोखिम व्यवस्थापन गर्न स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३९:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा आबद्ध गरेर विपतजन्य जोखिम व्यवस्थापन गर्ने योजना बनेको बताएका छन्। काठमाडौं महानगरपालिकाले मंगलबार बिहान नयाँ सडकस्थित भूगोलपार्कमा आयोजना गरेको २६औँ भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विपत् पूर्वतयारी र विपतपछिको पुनर्निर्माणलगायतमा काठमाडौं महानगरले गरेको काम उदाहरणीय रहेको भन्दै मन्त्री श्रेष्ठले काठमाडौं महानगरबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने बताए।

‘काठमाडौं महानगरपालिकाले विपत् पूर्वतयारी, विपतका समयमा गरिने खोज तथा उद्धार, विपतपछिको पुनर्निर्माणमा गरेको काम अन्य पालिकाहरूका लागि पनि सिकाइ रहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जाजरकोट भूकम्पमा काठमाडौं महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ।’

काठमाडौंका सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तरसरकार समन्वयबाट काम गर्नुपर्ने उनले प्रस्ट पारे। श्रेष्ठले भने, ‘भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ । हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रवर्द्धन गर्न सक्छौँ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाहरूको सबलीकरण, खुला ठाउँको संरक्षण, विपतसिर्जित संकटबाट बच्न समुदायस्तरीय संयन्त्रमा महानगरपालिकाले ध्यान दिएको छ।’

सो अवसरमा स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपतजन्य जोखिममा काम गर्ने प्रहरीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नगर प्रहरी निरीक्षक शम्भु विष्ट, नगर प्रहरी नायब निरीक्षक (फायर कमान्डर) नरेशबहादुर कुँवर, नगर प्रहरी नायव निरीक्षक (फायर कमान्डर) गगनबहादुर गुरुङ, दमकलचालक तथा पम्प अपरेटर नवराज सुवेदी र कार्यालय सहयोगी तथा अग्नि नियन्त्रक रामबहादुर खत्री छन्।

ad
ad