१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २० आइतबार
  • Sunday, 02 June, 2024
२o८१ जेठ २० आइतबार २१:११:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २० आइतबार २१:११:oo

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ । 

प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत सोमबार मनोनयन दर्ता गरेका १५ उम्मेवारको उम्मेदवारी कायमै रहेको हो ।

बागमतीमा सत्तागठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित एमाले, राप्रपा र नेमकिपा गरी ६ वटा राजनीतिक दलका १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका तर्फबाट कांग्रेसका दुई, माओवादी र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन् । यस्तै, एमालेका चार, राप्रपाका तीन तथा नेमकिपाका चारजनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्य पदको रिक्त रहेको १९ पदमध्ये बागमती प्रदेशबाट रिक्त हुने चार सदस्यका लागि निर्वाचन हुन लागेको हो । जसमा अन्य, महिला, अल्पसंख्यक/अपांगता भएका र दलित गरी चार सदस्य रिक्त हुँदै छन् । 

कांग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादी केन्द्रबाट अपांगता क्लस्टरबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरमा घनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दिएका छन् । 

एमालेका तर्फबाट महिला कोटामा रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन् ।

राप्रपाबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकबाट भरतमणि भट्ट र नेमकिपाबाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपांगतातर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ संगीता नेपाली उम्मेदवार बनेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन् । जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी दुई ३७ जना रहेका छन् । 

प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको कुल मतभार पाँच हजार आठ सय ३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार चार हजार पाँच सय तीन रहनेछ ।

राष्ट्रिय सभामा रहेका एमालेका नौ, कांग्रेसका चार माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकजना गरी २० सांसदको पदावधि आउँदो २० फागुनबाट सकिँदै छ । 

ad
ad
ad
ad
ad
ad