१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फर्जी लाइसेन्समाथि अख्तियारको छानबिन, यातायात व्यवस्था विभागबाट कागजात नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४७:oo

लिखित परीक्षा र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी गरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । बुधबार यातायात व्यवस्था विभागबाट अख्तियारले फर्जी लाइसेन्सका कागजात लगेको छ ।

छानबिनको नेतृत्व गरेका अनुसन्धान अधिकृतसहितको टोली विभाग पुगेर कागजात लगेको हो । केही समयअघिदेखि नै अख्तियारले यस सम्बन्धमा छानबिन गरिरहेको स्रोतले बतायो । विभागले गरेको आन्तरिक छानबिनले विषयलाई थप उजागर गरिदिएपछि अख्तियारले अनुसन्धानलाई तीव्र बनाएको छ । 

‘सवारी लाइसेन्सको काम कसरी भइरहेको छ, कसरी सुधार गर्न र अघि बढ्न सकिन्छ भन्नेलगायतका विषयमा अख्तियारको टोलीले चासो राखेको थियो,’ विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘अनुसन्धानका लागि विभागले गरेको छानबिनको कागजात पनि माग्नुभएको थियो ।’ विभागले लाइसेन्सका सम्बन्धमा देखिएका समस्या पनि अख्तियारलाई जानकारी गराएको छ ।

विभागले गरेको छानबिन प्रतिवेदन पनि अख्तियारलाई बुझाएको छ । एक महिनाअघि विभागले सूचना प्रविधि शाखा प्रमुख उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा विभागकै शाखा अधिकृत अर्जुन अधिकारी, आइटी इन्जिनियर बोधराज बराल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी तपनकुमार दाहाल सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो । समितिले गत शुक्रबार महानिर्देशक रिजाललाई प्रतिवेदन बुझाएको थियो ।

अख्तियारको निर्देशनपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि फर्जी लाइसेन्सका सम्बन्धमा छुट्टै छानबिन गरिरहेको छ । लाइसेन्सबारे उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई यस विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न पत्राचार गरेको थियो । अख्तियारकै पत्राचारका आधारमा मन्त्रालयले तीनसदस्यीय समिति गठन गरेको थियो । 

मन्त्रालयले पुसको दोस्रो साता सिडिई सुरेश श्रेष्ठको संयोजकत्वमा शाखा अधिकृत कमल पन्थी र कम्प्युटर इन्जिनियर दिनेश अधिकारी सम्मिलित समिति गठन गरेको छ । समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।