१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

खोटाङमा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिकटन सुन्तला उत्पादन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:४६:oo

३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात

दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएकाे छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।  

यस वर्ष सबैभन्दा बढी जन्तेढुंगा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिए । ‘जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिकटन बढी उत्पादन भएको देखिन्छ,’ उनले भने, ‘आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिक रूपमा खेती गर्नेको संख्या पनि बढ्दै गएको छ ।’

जन्तेढुंगा– ६ दिप्लुङबाट मात्रै यस वर्ष एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय जगत राईले बताए । ‘हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ । यस वर्ष  एक करोडभन्दा बढीको निर्यात गरेका छौँ,’ उनले भने, ‘कसैले आफैँले बजारसम्म पुर्‍याएर बिक्री गरे भने, कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन् । मैलेचाहिँ आफैँले सुनसरीको इटहरी र उदयपुरको बेल्टार, सप्तरीको फत्तेपुरलगायतका बजार पुर्‍याएर रु. ६ लाखको बेचेँ । यस वर्षभन्दा अर्को वर्ष अझै उत्पादन बढ्ने अपेक्षा गरेका छौँ ।’

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा– ५ चिसापानीस्थित घोर्ले भन्ने एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन् । उक्त वडाको वाचिपाला, खुटालगायतका गाउँबाट पनि उत्तिकै मात्रामा सुन्तला निर्यात भएको जनाइएको छ । जन्तेढुंगा गाउँपालिकामा कात्तिक अन्तिम हप्ताबाटै सुन्तला पाक्ने गरेकाले पनि राम्रो बजार पाउने गरेको राईले जानकारी दिए । जन्तेढुंगाका किसानले लगाएका सुन्तलाखेतीमा अहिलेसम्म रोगसमेत नदेखिएको बताइएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका– १ याम्खामा सुन्तलाखेती गर्ने रामबहादुर कुँवरको बगानमा यस वर्ष असिनाले क्षति पुर्‍याएकाले गत वर्षको तुलनामा आधा मात्र उत्पादन भएको जनाइएको छ । कुँवरले गत वर्ष नौ लाखको सुन्तला बेचेका थिए । आफूले उत्पादन गरेको सुन्तला दिक्तेल बजार र गाईघाटमा प्रतिकेजी एक सय १० देखि  एक सय ३० सम्ममा बिक्री भइरहेको उनले बताए ।

जिल्लाका अन्य स्थानीय तहका किसानले पनि सुन्तलाबाट राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा देखिएको छ । जिल्लामा यातायातको सुविधा सहज भएपछि बजारसम्मको सीधा पहुँच विस्तार भएसँगै सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेको कृषि प्रसार अधिकृत पण्डितले जानकारी दिए ।

जिल्लामा उत्पादित सुन्तला जिल्लाभित्रकै हाटबजार तथा धरान, विराटनगर, काठमाडौंलगायतका सहरमा निर्यात हुने गरेको पाइएको छ । जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी बाहिरी जिल्लाबाट आएका ठेकेदारले खरिद गर्ने गरेका छन् ।

जिल्लामा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बजारको समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए। ‘सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि धेरै किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्न थालेका छन् । आगामी दिनमा व्यावसायिक रूपमा खेती गर्ने किसानका लागि सुन्तला ठूलो आर्थिक आम्दानीको स्रोत हुने अनुमान गरेका छौँ,’ उनले भने ।

सुन्तलाखेती गर्ने किसानका लागि कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ । जिल्लाका हरेक स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका कार्यक्रम बनाएर लागू गरेका छन् ।     

 
 

ad
ad