१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २o:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेले सरकारविरुद्ध काठमाडौंकेन्द्रित आन्दोलन गर्ने 

तयारी गर्न जनसंगठनलाई पार्टी महासचिव शंकर पोखरेलको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:o१:oo

प्रमुख विपक्षी दल एमालेले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य सुरु गरेको छ। सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै एमालेले आन्दोलनको गृहकार्य सुरु गरेको हो।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सबै जनसंगठनहरूलाई आन्दोलनको गृहकार्य अगाडि बढाउन निर्देशन दिए। 

सरकारको गैरजिम्मेवारीले सीमा नाघेका कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ थियो। संयन्त्रको बैठककलगत्तै जनसंगठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने गरी तयारी गर्ने जानकारी गराएका छन्। 

‘सरकार हरेक क्षेत्रमा असफल भयो, मुलुकको स्वाधीनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेको छ, अब यो सरकारलाई ठेगान लगाउने गरी आन्दोलनको तयारीमा जुटनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको छ,’  बैठकमा महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भने, ‘निकट भविष्यमा राजधानीकेन्द्रित भएर केही गतिविधि गर्नुपर्छ कि भन्ने ढंगले हामीले सोचिरहेका छौँ। यो कामको तयारीमा सबै जनसंगठन लाग्नोस्।’

महासचिव पोखरेलले राजधानीमा मध्यमवर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्यादती भए पनि ठोस ढंगले प्रतिकार हुन नसकेको भन्दै त्यस दिशातर्फ पनि ध्यानकेन्द्रित गर्न निर्देशन दिए। 

‘सरकार र स्थानीय निकायमा रहेका शासकहरूले जनतामाथि जे गर्दा पनि सहेर बस्ने कुरा उचित होइन, अब जनताको पक्षमा दृढतापूर्वक उभिनुपर्छ। त्यसका लागि जनसंगठनहरू आफ्ना गतिविधिलाई अलिक आक्रामक बनाएर जानुपर्छ,’ पोखरेलको निर्देशन थियो, ‘अब इफ, बट नभनी सरकारको ज्यादतीबारे आक्रामक बन्नुपर्छ। जनताका सरोकारका विषयमा सम्झौता नगरी संगठित रूपमा लाग्नुपर्छ। जनताले मन नपराउने कुरा अब रोक्ने गरी हामी अघि जानुपर्छ। यो कामको तयारी गर्नाेस्।’

नेपालको आन्तरिक मामिलामा सरकारले खेलबाड गरेको भन्दै पोखरेलले त्यसबारे जनतालाई प्रस्ट्याउनुपर्नेमा पनि जोड दिए। ‘सीधै २० करोड लगानी गर्न सक्ने प्रावधान आपत्तिजनक छ। यो आन्तरिक मामिलामा गम्भीर विचलन हो,’ उनले भने, ‘वैदेशिक सहायताहरू बजेटरी प्रणालीमा ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो, तर यो सरकारले सीधै २० करोड खर्च गर्न दिने सम्झौता गरेर गम्भीर राष्ट्रघाट गरेको छ।’ 

बैठकमा संयन्त्रका संयोजक ढकालले अब एमालेका सबै जनसंगठनहरू जुझारु र सरकारका ज्यादतीविरुद्ध निर्मम र आक्रामक रूपमा प्रस्तुत भएर सच्चिन बाध्य पार्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए। बैठकमा एमालेसम्बद्ध २२ जनवर्गीय संगठनका अध्यक्ष, इन्चार्जलगायत सहभागी थिए।

ad
ad