१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:२४:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

२०२४ मा थपिँदै दर्जन पाँचतारे होटेल

२०२५ मा एक दर्जनभन्दा बढी पाँचतारे सञ्चालनमा आउँदै

Read Time : > 6 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२४:oo

- करिब ३५ अर्ब लगानीका होटेलमा १५ सयभन्दा बढी कोठा तयार हुँदै
- ख्यातिप्राप्त अन्तर्राष्ट्रिय चेन होटेलको नेपाल आकर्षण, व्यवसायीहरूबीच पनि ब्रान्ड भित्र्याउन प्रतिस्पर्धा 
- सन् २०२३ मा विदेशी पर्यटक आगमन १० लाख नाघेको छ, आगामी वर्ष दोब्बर पुर्‍याउने प्रधानमन्त्री प्रचण्डको उद्घोष 

सन् २०२४ ‘आतिथ्य सत्कार’ उद्योगका लागि उत्साहप्रद हुने देखिएको छ । निर्माणको अन्तिम चरणमा रहेका एक दर्जन पाँचतारे होटेल यस वर्ष सञ्चालनमा आउँदै छन् । करिब ३५ अर्ब लगानी रहने यी होटेलमा १५ सयभन्दा बढी कोठा तयार भइरहेका छन् । यसबाट पर्यटक भित्र्याउन मद्दत पुग्ने व्यवसायीहरू बताउँछन् । 

पछिल्लो समय ख्यातिप्राप्त अन्तर्राष्ट्रिय चेन होटेल नेपालमा लगानी गर्न उत्सुक  देखिएका छन् । अधिकांश तारे होटेल तथा रिसोर्टको व्यवस्थापनमा चर्चित अन्तर्राष्ट्रिय होटेल चेन कम्पनी आउन थालेका छन् । होटेलका सञ्चालकहरूबीच पनि बहुराष्ट्रिय ब्रान्ड भित्र्याउन प्रतिस्पर्धा नै चलेको देखिन्छ । 

हालसम्म करिब डेढ दर्जन विख्यात ब्रान्ड नेपालमा भित्रिसकेका भने दर्जनभन्दा बढी ब्रान्डले आउन निर्माणाधीन होटेलसँग सम्झौता गरेका छन् । अन्तर्राष्ट्रिय चेनले विश्वव्यापी फैलिएको आफ्नो सञ्जाल प्रयोग गरी नेपालमा पर्यटक बढाउने अपेक्षा व्यवसायीको छ । 

उत्पादनमूलक उद्योगमा नयाँ लगानी आउन नसकिरहेका वेला होटेलमा भने ठूलो लगानी ओइरिएको छ । अहिले सञ्चालनमा रहेका र २०२४ मा सञ्चालनमा आउने होटेल हेर्दा २५ लाखभन्दा धेरै पर्यटक धान्ने आधार तयार भएको पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । अहिले काठमाडौंसहित झापा, विराटनगर, इटहरी, चितवन, पोखरा, बुटवल, भैरहवादेखि कैलालीसम्म धमाधम पाँचतारे होटेल निर्माण भइरहेका छन् । ०७२ को भूकम्पअघि निर्माण सुरु गरिएका केही ठूला होटेल पनि २०२४ मा सञ्चालनमा आउँदै छन् । 

पर्यटनको राम्रो सम्भावना देखेर नै विदेशी ब्रान्ड नेपालमा लगानी गर्न उत्सुक देखिएको होटेल व्यवसायी बताउँछन् । ‘अन्तर्राष्ट्रिय चेन नेपाल भित्रिन प्रतिस्पर्धामा छन् । उनीहरू पनि नेपालमा सम्भावना देखेरै आएका हुन् । घाटा खान कोही पनि आउँदैन,’ होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले भन्छन्, ‘समग्रमा हस्पिटालिटीमा भएको लगानी उत्साहजनक छ । हामी विश्वका जुनसुकै वर्गका पर्यटकलाई सेवा दिन सक्षम छौँ । वर्षमा २५–३० लाख पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार भइसकेको छ ।’ 

नेपालमा पहिलोपटक पाँच दशकअघि सोल्टी होटेलले विदेशी ब्रान्ड ओवरायलाई नेपाल भित्र्याएको थियो । ओवरायले सोल्टीमा रहेको आफ्नो सेयर बिक्री गरेर फिर्ता भइसकेको छ । अहिले हायात रिजेन्सी, म्यारियट, फेयरफिल्ड म्यारियट, र्‍याडिसन, ताज सफारी, ताज भिभान्ता, हायात प्लेस, अलफ्ट, द फर्न, होली डे इन एक्सप्रेस, होली डे इन, दुसित थानी, दुसित प्रिन्सेस, सिन्तामणिलगायत अन्तर्राष्ट्रिय चेन ब्रान्ड नेपालमा छन् । सोल्टीबाट केही वर्षअघि बाहिरिएको इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी)को चर्चित ब्रान्ड क्राउन प्लाजालाई उद्यमी अरुण चौधरीले पुल्चोकमा निर्माण भइरहेको होटेलमा ल्याउँदै छन् । 

अहिले निर्माणाधीन होटेलमध्ये अधिकांशमा अन्तर्राष्ट्रिय ब्रान्ड आउन लागेका छन् । सेराटन, मक्र्योर (एक्कोर समूह), हिल्टन, सेन्ट रिजिस, रमाडा, ले मेरिडियन, रोयल टुलिप, होली डे इन, क्राउन प्लाजा, मोक्सी, इन्टरकन्टिनेन्टल होटेल एन्ड रिसोर्ट, होटेल इन्डिगो, होली डे इन एक्सप्रेसलगायत नेपाल भित्रिने तयारीमा छन् ।

शंकर समूहले भूकम्पअघि नक्सालमा निर्माण सुरु गरेको हिल्टन काठमाडौं होटेल ०८१ असारदेखि पूर्ण क्षमतामा सञ्चालमा आउँदै छ । एक सय ७५ कोठाको होटेल सञ्चालनमा आउँदा लगानी ६ अर्ब ८५ करोड पुग्ने अनुमान गरिएको छ । यो होटेल निर्माण अवधि लम्बिँदै जाँदा लगानी पनि थपिँदै गइरहेको छ । १० रोपनी क्षेत्रफलमा बनिरहेको आइकोनिक टावरको १७औँ तलामा स्विमिङ पुल रहने शंकर समूहले जनाएको छ । 

चितवनको पटिहानीमा पाँचतारे लक्जरी रिसोर्टको निर्माण कार्य तीव्र गतिमा छ । गैरआवासीय नेपाली रामेश्वर शाहले चितवनकै पहिलो पाँचतारे रिसोर्ट निर्माण थालेका हुन् । ३४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो रिसोर्टमा ६४ कोठा रहनेछन् । ‘स्ट्रक्चरको काम सकिएर फिनिसिङको काम भइरहेको छ, कोठाको फिनिसिङ सकिनै लागेको छ, अहिले पब्लिक एरियामा घाँस र बिरुवा लगाउने काम भइरहेको छ,’ शाहले भने, ‘समग्रमा ७५ प्रतिशत काम सकिएको छ, नेपाली नयाँ वर्षमा सञ्चालनमा ल्याउने लक्ष्य छ ।’

रिसोर्टको व्यवस्थापनमा फ्रान्सेली ‘लुभ्र होटेल्स ग्रुप’को ‘रोयल टुलिप’ ब्रान्ड आउँदै छ । सुरुमा शाहले ८५ करोड लगानी अनुमान गरेर रिसोर्ट निर्माण सुरु गरेका थिए । तर, बीचमा पाँचतारे लक्जरी रिसोर्ट बनाउने र विदेशी ब्रान्ड भित्र्याउने निर्णय भएपछि लगानी बढेर सवा अर्ब पुगेको शाहको भनाइ छ ।

काठमाडौंको बुढानीलकण्ठमा हेरिटेज प्रालिले निर्माण गरेको पाँचतारे ‘लेमन ट्री प्रिमियर’ होटेल २०२४ को पहिलो दिन (१ जनवरी)मै सञ्चालमा आएको छ । १२ रोपनी क्षेत्रफलमा बनेको नौतले भवनमा तीन प्रकारका एक सय दुई कोठा रहेका छन् भने एक अर्ब ६० करोड रुपैयाँ लगानी भएको छ । सिए दीपक पाण्डे, सिए नवराज बुर्लाकोटी, सेयर व्यवसायी अम्बिकाप्रसाद पौडेललगायतको लगानी रहेको लेमन ट्री प्रिमियर बुढानीलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे हुनेछ । लेमन ट्री प्रिमियर भारतको सबैभन्दा ठूलो चेन हस्पिटालिटी म्यानेजमेन्ट कम्पनी हो ।

बुढानीलकण्ठमै अर्को पाँचतारे होटेल पनि जनवरीमा सफ्ट लन्च गर्ने तयारी भइरहेको छ । सांसद दीपक खड्का मुख्य लगानीकर्ता रहेको होटेल फरेस्ट इन निर्माणको अन्तिम चरणमा छ । यो होटेलको व्यवस्थापन बहुराष्ट्रिय कम्पनी इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी)को मिडस्केल ब्रान्ड ‘होलिडे इन’ले सम्हाल्ने तय भइसकेको छ । सञ्चालकका अनुसार २६ रोपनी क्षेत्रफलमा फैलिने होटेलमा तीन प्रकारका एक सय १५ कोठा रहनेछन्, जसमा दुई अर्ब ६० करोड रुपैयाँ लगानी हुनेछ । कांग्रेस नेता खड्काले झापामा पनि पाँचतारे स्तरकै होटेल इस्टर्न निर्माण गरिरहेका छन् । यो होटेल पनि छिट्टै सञ्चालनमा ल्याउने उनको तयारी छ ।

काठमाडौंको सुकेधारा हाइटमा पाँचतारे होटेल ‘मक्र्युर काठमाडौं’ तयार भएको छ । देशबन्धु बस्नेत मुख्य लगानीकर्ता रहेको होटेलमा एक सय १२ कोठा रहनेछन् । ‘रुमहरू तयारी अवस्थामा छन्, अहिले फर्निसिङको काम भइरहेको छ, यस्तै बाहिरी भागमा फिनिसिङको काम हुँदै छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले भने, ‘आगामी एप्रिल–मेसम्म होटेल सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ ।’ 

सुरुवातमा एक अर्ब ५६ करोड लगानी अनुमान गरिएकोमा निर्माण अवधि लम्बिँदै जाँदा लागत पनि ४५ प्रतिशतले बढेको छ । होटेल सञ्चालनमा आउँदा लगानी सवा दुई अर्ब पुग्ने संशोधित अनुमान छ । सुकेधारा हाइटमा बनेको गगनचुम्बी भवनबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिने बस्नेतले बताए । यस होटेलको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटेल एकोर ग्रुपले गर्नेछ, जुन ‘मक्र्युर’ ब्रान्डमा सञ्चालन हुनेछ । 

बस्नेतले नै एक अर्बभन्दा बढी लगानीमा पूर्वको व्यापारिक केन्द्र इटहरीमा अर्को पाँचतारे होटेल निर्माण गरिरहेका छन्, जुन २०२४ भित्रै सञ्चालनमा आउने उनले बताए । व्यवस्थापन सम्हाल्न अमेरिकी होटेल ग्रुप ‘विन्डह्याम’ नेपाल आउने सम्झौता भइसकेको छ । होटेल ‘रमाडा बाई विन्डह्याम’ ब्रान्ड नेममा सञ्चालनमा आउनेछ । आठ तलाको होटेलमा ८० कोठा रहने बस्नेतले बताए । 

गुण ग्रुपले ग्वार्कोमा निर्माण गरेको अपार्टमेन्ट परियोजनालाई होटेलमा परिणत गर्दै छ । अहिले धमाधम इन्टेरियरको काम भइरहेको होटेलका प्रबन्ध निर्देशक दीप्रश शाक्यले बताए । ‘स्ट्रक्चर निर्माण सकिएको छ, अहिले साजसज्जा, फर्निसिङ, लाइटिङलगायत काम भइरहेको छ,’ उनले भने, ‘डिसेम्बर २०२४ भित्र होटेल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।’ १७ रोपनी क्षेत्रफलमा बनेको १३ तले भवनमा तीन सय दुई कोठा रहनेछन् । होटेल सञ्चालनमा आइसक्दा लगानी साढे ६ अर्ब पुग्ने अनुमान गरिएको शाक्यले बताए । 

पूर्वमन्त्री एवं व्यवसायी मोतीलाल दुगड नेतृत्वको सेञ्चुरियन ग्रुपले विराटनगरमा सपिङ मलसहितको पाँचतारे होटेल निर्माण गरिहेको छ । सपिङ मल सञ्चालनमा आइसकेको दुगडले बताए । ‘होटेलको स्ट्रक्चर निर्माण सकिएको छ, फिनिसिङको काम हुँदै छ,’ उनले भने, ‘२०२४ डिसेम्बरसम्म होटेल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेका छौँ ।’

डेढ बिघा क्षेत्रफलमा बनिरहेको होटेल, मल र क्यासिनोका लागि छुट्टाछुट्टै तीनवटा टावर ठड्याइएको छ । मलसहितको होटेल सञ्चालनमा आउँदा लगानी सवा तीन अर्ब पुग्ने दुगडले बताए । यो विराटनगर क्षेत्रकै पहिलो पाँचतारे होटेल हुने उनको भनाइ छ । होटेलको व्यवस्थापन अन्तर्राष्ट्रिय होटेल ब्रान्ड र्‍याडिसनले सम्हाल्ने सम्झौता भइसकेको छ ।

तनहुँको चर्चित पर्यटकीय गन्तव्य बन्दीपुरमा पनि पाँचतारे होटेल बनिरहेको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तले होटेलमा ८२ कोठा हुनेछन् । ‘होटेलको स्ट्रक्चरको काम सकेर इन्टेरियर र आउटेरियर डिजाइनको काम भइरहेको छ,’ बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले भने, ‘अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ, ०८१ मंसिरदेखि सञ्चालनको लक्ष्य राखेका छौँ ।’

केबुलकार निर्माण सम्पन्न भइसकेको छ । वैशाखदेखि केबुलकार सञ्चालनमा ल्याउने योजना बनाएको शर्माले सुनाए । ‘केबुलकार र होटेल एकसाथ सञ्चालनमा ल्याउने योजना थियो, तर होटेल सञ्चालनमा आउन अझै एक वर्ष लाग्छ,’ उनले भने, ‘अहिले केबुलकार सञ्चालनमा ल्याउँछौँ ।’ होटेल र केबुलकारमा गरी कुल साढे तीन अर्ब लगानी हुँदै छ । 

भैरहवाको लुम्बिनी रोडमा ‘होलिडे इन’ होटेल पनि २०२४ भित्रै सञ्चालनमा आउँदै छ । एक सय २५ कोठा रहने होटेलमा एक अर्बभन्दा बढी लगानी हुने सञ्चालकले बताएका छन् । होटेलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन होटेल आइएचजीको मिडस्केल ब्रान्ड होलिडे इन आउने तय भइसकेको छ । २०२४ भित्रै बुटवलमा पनि पाँचतारे होटेल सञ्चालनमा आउँदै छ, जुन बुटवलकै पहिलो पाँचतारे हुनेछ । सुक्खानगरमा निर्माण भइरहेको १२ तले भवनको स्ट्रक्चरको काम सकिएर फिनिसिङको काम भइरहेको छ । एक सय आठ कोठा रहने यो होटेल सञ्चालनमा आउँदा लगानी डेढ अर्बभन्दा बढी पुग्ने अनुमान छ । 

१० लाख पर्यटक आए, २० लाख पुर्‍याउने लक्ष्य

२०२३ मा विभिन्न देशबाट १० लाखभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सबैभन्दा धेरै सवा तीन लाख भारतीय र एक लाखभन्दा बढी अमेरिकन पर्यटक रहेका छन् । सरकारले बजेटमै २०२३ मा १० लाख पर्यटक पुर्‍याउने घोषणा गरेको थियो । कोभिड महामारीपछि घटेका पर्यटक पछिल्लो समय निरन्तर बढिरहेका छन् । ठूलो लगानीका दर्जनौँ होटेल सञ्चालनमा आइरहँदा पर्यटक आगमन पनि क्रमशः बढ्न थालेपछि होटेल व्यवसायी पनि उत्साहित बन्न थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा आगामी वर्ष पर्यटकको संख्या दोब्बर पुर्‍याउने घोषणा गरेका छन् । अर्थात् २०२४ मा २० लाख पर्यटकको लक्ष्य राख्न थालिएको छ । ‘छिमेकी देश भारतबाट १० लाख पर्यटक भिœयाउन सकिने आधार देखियो, भारतीयको नेपालमोह यस वर्षको तथ्यांकले देखायो,’ पर्यटन व्यवसायी वसन्त मिश्रले भने, ‘हामीसँग २५ लाख पर्यटक राख्न सक्ने होटेल तथा रिसोर्ट तयार भइसकेका छन् ।’ 

२०२३ मा बने १० अर्बका पाँचवटा पाँचतारे
२०२३ मा करिब १० अर्ब लगानीका पाँचवटा पाँचतारे स्तरका होटेल सञ्चालनमा आएका छन् । काठमाडौं, काभ्रे, भैरहवादेखि इटहरीसम्म नयाँ पाँचतारे थपिएका हुन् । साढे दुई अर्ब लगानीमा सिद्धार्थ बिजनेस ग्रुपले भैरहवामा असारदेखि पाँचतारे ‘सिद्धार्थ भिलासा’ होटेल सञ्चालनमा ल्याएको छ । त्यसअघि इटहरीमा ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आएको छ । सिमराको इच्छा होटेललाई स्तरोन्नति गरेर पाँचतारे स्तरको बनाइएको छ । गत साउनमा करिब दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा धुलिखेलमा लक्जरी ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । यस्तै, लाजिम्पाटमा पाँचतारे ‘दुसित प्रिन्सेस काठमाडौं’ होटेल सञ्चालनमा आएको छ । १२ तले होटेलमा पाँच प्रकारका एक सय सात कोठा रहेका छन्, जहाँ साढे दुई अर्ब लगानी भएको होटेल ल्हासा इन्टरनेसनलका समूहका अध्यक्ष छिरिङ लामा बताउँछन् ।

हस्पिटालिटी उद्योगमा प्रख्यात अन्तर्राष्ट्रिय चेन होटेल आउनु सुखद हो : विनायक शाह, अध्यक्ष, होटेल संघ नेपाल
पछिल्ला वर्षमा अन्य उद्योगमा खासै लगानी भएको देखिन्न । तर, होटेल तथा रिसोर्टमा भने लगानी ओइरिएको छ । एकपछि अर्को पाँचतारे होटेल सञ्चालनमा आइरहेका छन् । ठाउँ–ठाउँमा लक्जरी रिसोर्ट खुलिरहेका छन् । पक्कै पनि भविष्य देखेरै यति ठूलो लगानी भएको हो ।

अन्तर्राष्ट्रिय चेन नेपाल भित्रिन प्रतिस्पर्धामा छन् । उनीहरू पनि नेपालमा सम्भावना देखेरै आएका हुन् । घाटा खान कोही पनि आउँदैन । समग्रमा हस्पिटालिटीमा भएको लगानी उत्साहजनक छ । नेपालको हस्पिटालिटी उद्योगमा प्रख्यात अन्तर्राष्ट्रिय चेन होटेल आउनु सुखद हो । हामी विश्वका जुनसुकै वर्गका पर्यटकलाई सेवा दिन सक्षम छौँ । वर्षमा २५–३० लाख पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार भइसकेको छ ।

तर, अहिले आइरहेका पर्यटकले मात्रै पुग्दैन । जसरी नयाँ–नयाँ होटेल आइरहेका छन्, त्यसरी नै सरकारले तीनवटै एयरपोर्ट पूर्ण क्षमतामा चलाएर विश्वबजारमा कनेक्टिभिटी बढाउन सक्नुपर्छ । भारत र चीनका सहरहरूमा जति धेरै कनेक्टिभिटी बढाउन सकियो, त्यति पर्यटक आउँछन् । हामीले थोरै मिहिनेत गरेमा भारतबाट सजिलै १० लाख पर्यटक ल्याउन सक्ने देखिइसक्यो । 

ad
ad