१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
गुल्मीको सिद्धबाबा माविमा कक्षा ११ र १२ मा कानुन संकाय तथा कक्षा ६ देखि १२ सम्म सामाजिक शिक्षा अध्ययनरत विद्यार्थीहरूले चलाएको नमूना संसद् । तस्बिर : टोपलाल अर्याल/नयाँ पत्रिका
Invalid date format २१:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीका विद्यार्थीले चलाए नमुना संसद्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५o:oo

जब सभामुख र उपसभामुख संसद् छिरे, सबै सांसद आआफ्नो ठाउँबाट उठे। राष्ट्रिय गानसँगै सभामुखले बैठक प्रारम्भ गरे। त्यसपछि क्रमैसँग सांसदहरूले आआफ्नो क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गराए। 

सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवालजवाफ चल्यो। जुम्लाको स्याउले बजार नपाएकोदेखि मधेश र सुदूरको जातीय छुवाछुत हुँदै गुल्मीपश्चिममा पुल नहुँदा नागरिकले पाएका सास्तीका विषय सांसदले उठाए। सत्तापक्षका प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले सरकारका कामको रक्षात्मक जवाफ पेस गरे भने प्रतिपक्षका सांसदहरूले सरकारको काम कारबाहीको कडा आलोचना गरे। 

देख्दा संघीय संसद्को झल्को आउँथ्यो। पात्र, विषय र भूमिका अभ्यासका निम्ति भए पनि देशको परिस्थितिसँग दुरुस्त थियो। संसदमा बोल्न नजान्ने, उत्तेजक र आक्रामक सांसद, सरकारले बाड्ने विकासको आदर्शदेखि संसद्को प्राविधिक कमजोरीको समेत ठ्याक्कै चित्रण अभ्यासमा देखाइएको थियो। 

जिल्लामै कानुन संकायमा अध्ययन हुने पहिलो विद्यालय सिद्धबाबा माविका विद्यार्थीले प्रस्तुत गरेको नमुना युवा संसद्को अभ्यासले देख्नेहरू पनि छक्क परे। 

सधैँ टेलिभिजनको पर्दामा सांसद् र संसद्को प्रक्रिया देखेका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरोकारवाला पनि अभ्यासले दंग थिए। गुल्मीमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले नमुना संसद्को अभ्यास गरेका हुन्। 

नमुना संसद् वास्तविक संसदभन्दा केही फरक नभएको अवलोकन गरिरहेका मानव अधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोख्रेलले बताए। उनले संसद् नमुना भए पनि पात्रहरूको चरित्र र प्रस्तुति वास्तविक सांसद, मन्त्री र प्रधानमन्त्रीजस्तै प्रस्तुत भएको बताए। उनले विद्यालय र विद्यार्थीको सिर्जनशीलता निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिए। 

जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत कानुन संकाय र कक्षा ६ देखि १२ सम्म सामाजिक शिक्षा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक विधिबाट संसद्को नमुना अभ्यास प्रस्तुत गरेको विद्यालयका प्रध्यानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए। 

विद्यार्थीहरूलाई संसद्को काम कर्तव्य अधिकार, संसद्मा प्रस्तुत हुने विधेयक र त्यसको विधि एवं प्रक्रियाबारेमा जानकारी गराउँदै शिक्षा विधेयकसमेत पारित गरिएको श्रीसले बताए। 

चार घण्टाभन्दा बढी समय सञ्चालन भएको थियो। विद्यार्थीहरूलाई नयाँ युवा नयाँ सोच अभियानले प्रशिक्षण दिएको थियो। आगामी दिनमा विद्यालयले अभ्यासलाई निरन्तरता दिनुपर्ने कार्यक्रम संयोजक तथा प्रशिक्षक विनोद खत्रीले जोड दिए। 

विद्यार्थीहरूलाई नेपाली संसदीय पद्धतिको बारेमा ज्ञानप्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा नेतृत्व विकासमा समेत टेवा पुर्याउने उद्देश्यले नयाँ युवा नयाँ सोच अभियानले देशका विभिन्न क्याम्पस तथा स्कुलहरूमा नमुना युवा संसद्को अभ्यास गरिरहेको संयोजक खत्रीले बताए। 

कार्यक्रममा सयजना छात्रछात्राहरू प्रत्यक्ष रूपमा संसद्को विभिन्न भूमिकामा सहभागी थिए। रेसुंगा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरसहित वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, नागरिक समाज एवं सञ्चारकर्मीहरूले संसद् प्रक्रियाको अवलोकन गरेका थिए। 

नमुना संसद्को अभ्यासले आफूहरूलाई निकै खुसी दिएको तथा ऊर्जा मिलेको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको भूमिका निभाएका विपिन सुनारले प्रतिक्रिया दिए। उनले टेलिभिजनबाट देखेको संसद् र संसदीय प्रक्रियामा आफैँ सहभागी भएर अभ्यास गर्न पाउँदा निकै फाइदा पुगेको बताए।