१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुल्चोकको मन्त्रीनिवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्रीनिवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्यसचिव टंकलाल घिसिडको अध्यक्षतामा आज बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो। 

खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित हाल पुल्चोकको हरिहर भवनस्थित मन्त्रीनिवास ललितपुरको भैँसेपाटीमा निर्मित भवनमा स्थानान्तरणपश्चात् खेलाडी आवासका रूपमा रूपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटेल तथा बसोवास खर्चबापत राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो निर्णय गरेको सदस्यसचिव घिसिङले बताए। 

‘अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रशिक्षणका लागि विगतमा राज्यको ठूलो धनराशि खर्च हुने गरेको थियो। खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण सञ्चालन गर्दै राम्रो नतिजा हासिल गर्न पनि सहयोग पुग्ने भएको हुँदा हामीले मन्त्रीनिवासलाई खेलाडी आवासमा विकास गर्न प्रस्ताव गरेका हौँ,’ सदस्यसचिव घिसिङले भने, ‘उदाहरणका लागि १९औँ एसियाली खेलकुदको प्रशिक्षणका लागि सात महिनामा रु. १२ करोड ३८ लाख खर्च भएको थियो। १३औँ दक्षिण एसियाली खेलकुदको तयारीका लागि सात महिनाकै अवधिमा रु. ४३ करोड खर्च भएको थियो। यो राज्यलाई ठूलै भार हो। यसलाई कम गर्न सकिन्छ। त्यसैले हालको मन्त्रीनिवासलाई खेलाडी आवासका रूपमा विकास गर्न सके राज्य, खेलाडी र समग्र खेल क्षेत्रलाई फाइदा हुन्छ।’

सदस्यसचिव घिसिङले मन्त्रीनिवासलाई खेलाडी आवासमा विकास गर्न सके विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका वेला एउटै होटेलमा खेलाडीलाई राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताउँदै सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई समानस्तरको बसोवास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्न सके नतिजा पनि राम्रो आउने बताए। 

उनले राखेपको यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित भयो भने खेलप्रेमीका साथै आमजनमानसमा राज्यले खेलाडीलाई उच्च प्राथमिकता दिएको सन्देश जाने र खेलाडी पनि उत्साहित हुने विश्वास व्यक्त गरे। 

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले राखेपको कार्यकारी समितिको प्रस्तावलाई तदारुकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको घिसिङले जानकारी दिए।