१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल बुटवल आउँदै, सेनाले जितगढी किल्ला उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:११:oo

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउँदै छन्। शुक्रबार बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि उनी बुटवल आउन लागेका हुन्।

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम छ।

बुटवल– १ मा रहेको जितगढी किल्लाको पुनर्निर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउनेछ।

सो कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन्।

नेपाली सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताए।

‘यो किल्ला हामीमातहतमा आएपछि हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल–अंग्रेज युद्धको अध्ययन गर्ने थलोका रूपमा विकास गर्नेछौँ,’ उनले भने, ‘यहीँ नजिकै युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ।’

किल्ला क्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रूपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको छ।

बुटवल– १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा छ। जितगढीमा १८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो। सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका रूपमा मनाउँदै आएको छ।

ad
ad