१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:११:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘इ–स्कर्ट’मार्फत वेश्यावृत्ति : महिलालाई नयाँदिल्ली लगेर वेश्यावृत्तिमा लगाउने दम्पती पक्राउ

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:११:oo

मानव बेचबिखन कसुरमा पक्राउ परेका स्याङ्जा गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टीकाराम भण्डारी र ३१ वर्षीया अस्मिता भण्डारी उर्फ रिया भनिने टीकाकुमारी वलीले भारतको नयाँदिल्लीमा दश वर्षदेखि ‘इ–स्कर्ट (अनलाइन वेश्यावृत्ति)’ चलाएको खुलेको छ । स्कर्टमा प्रयोग गरिएका सबै युवती नेपाली हुन् । 

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनीहरूले दिल्लीको किसनगढमा ‘इ–स्कर्ट’ चलाउँदै आएका थिए । यसका लागि उनीहरूले किसनगढमा अत्याधुनिक ‘फ्ल्याट’ भाडामा लिएर युवतीलाई राख्थे । उनीहरूको आकर्षक फोटो नेटमार्फत ग्राहककहाँ पुर्‍याउँथे । ग्राहकले नेटमार्फत नै युवती छनोट गर्थ्यो । मूल्य निर्धारण हुन्थ्यो । र, छनोटमा परेका युवतीलाई उनीहरूले ग्राहककै छनोटको स्थानमा पुर्‍याइदिन्थे । 

एसएसपी जीवन श्रेष्ठ, प्रमुख, मानव बेचबखिन अनुसन्धान ब्युरो
भारतको दिल्लीमा १० वर्षदेखि अनलाइनमार्फत वेश्यावृत्ति गराउने धन्दामा संलग्न दुई पक्राउ परेका छन् । उनीहरूले नेपाली युवतीलाई प्रयोग गरी धन्दा चलाउँदै आएको देखिन्छ । अत्याधुनिक ‘फ्ल्याट’ भाडामा लिएर युवतीलाई राख्ने र युवतीलाई अनलाइनमार्फत ग्राहककहाँ पुर्‍याइदिने गरेको पाइयो ।

यो धन्दामा प्रयोग हुने सबै युवती नेपाली रहेको मानव बेचबखिन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी जीवन श्रेष्ठले जानकारी दिए । ‘भारतको दिल्लीमा १० वर्षदेखि अनलाइनमार्फत वेश्यावृत्ति गराउने धन्दामा संलग्न दुई पक्राउ परेका छन् । उनीहरूले नेपाली युवतीलाई प्रयोग गरी धन्दा चलाउँदै आएको देखिन्छ । अत्याधुनिक ‘फ्ल्याट’ भाडामा लिएर युवतीलाई राख्ने र युवतीलाई अनलाइनमार्फत ग्राहककहाँ पुर्‍याइदिने गरेको पाइयो,’ उनले भने ।

ब्युरोले गत १० पुसमा धन्दामा प्रयोग भएका पाँच युवतीलाई उद्धार गरेको थियो । यसअघि गत ७ चैतमा ब्युरोले नौ युवतीलाई उद्धार गरेको थियो । त्यसवेला ब्युरोले मकवानपुर भीमफेदी गाउँपालिका– ९ की २० वर्षीया सम्झना भनिने सेन्जी तामाङ, धादिङ धुनीबेँसी गाउँपालिका– २ का २५ वर्षीय भुवन तामाङ र अर्की एक नाबालिकालाई पक्राउ गरेको थियो । उनीहरू अहिले पुपक्र्षका लागि जेलमा छन् ।

ब्युरोका अनुसार ‘इ–स्कर्ट’ सञ्चालक टीकाराम र टीकाकुमारीले सेन्जी, भुवन र अर्की नाबालिकामार्फत नेपालबाट युवती दिल्ली लैजान्थे । विशेष गरी काठमाडौंको मनोरञ्जन क्षेत्रमा काम गर्ने युवती उनीहरूको निसानामा हुन्थे । आकर्षक तलबमा दिल्लीस्थित होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा काम लगाइदिने प्रलोभनमा उनीहरू युवती फसाउँथे । र, नेपालगन्ज नाका हुँदै युवतीलाई दिल्ली पुर्‍याउँथे । सम्पर्कमा आएका युवतीलाई टीकाराम र टीकाकुमारीले आकर्षक ‘मेकअप’ गरी फोटो खिचाउँथे । नेटमार्फत युवतीको ग्राहकलाई पठाउँथे । र, नेटकै सहयोगमा इच्छाएको युवतीलाई ग्राहकले भनेको ठाउँमा उपलब्ध गराइदिन्थे । धन्दाका लागि उनीहरूले सामाजिक सञ्जालमा ‘ग्रुप’ नै बनाएका थिए । ‘नेपालबाट लगिएको युवतीलाई ‘मेकअप’ गरी आकर्षक बनाई फोटो खिचेर ग्राहककहाँ ‘सर्कुलेसन’ गर्थे । सम्पर्कमा आएका ग्राहकलाई उनीहरूले नेटमार्फत नै इच्छाएको ठाउँमा पठाइदिन्थे,’ ब्युरोका प्रवक्ता एसपी कृष्ण पंगेनीले भने ।

ब्युरोका अनुसार एक युवतीले दैनिक ६ ग्राहकलाई सेवा दिनुपर्थ्यो । महिनामा एक युवतीले एक सय ८० ग्राहकलाई अनिवार्य रूपमा सेवा दिनुपर्थ्यो । यसबापत इ–स्कर्ट सञ्चालकले प्रतिग्राहक पाँच हजारदेखि १५ हजार भारुसम्म असुल्ने गर्थे । युवतीलाई भने प्रतिग्राहक २० प्रतिशत उपलब्ध गराउने भनिएको थियो । तर, उनीहरूले युवतीलाई कबुल गरेबमोजिमको रकम नदिई शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्युरो प्रवक्ता एसपी पंगेनीले बताए । ‘उनहरूले ग्राहकबाट लिएको रकममा पनि शोषण गर्थे । कतिपय युवतीलाई रकम नै नदिई नेपाल फर्काएको अनुसन्धानबाट देखिन्छ,’ पंगेनीले भने ।

ब्युरोका अनुसार उनीहरूले प्रत्येक ६ देखि आठ महिनाको अन्तरालमा युवतीको ‘सिफ्ट’ गराउँथे । नयाँ युवती ल्याउँथे र पुराना युवतीलाई नेपाल फर्काउँथे । १० वर्षको अन्तरालमा उनीहरूले सयदेखि एक सय ५० भन्दा धेरै नेपाली युवतीलाई इ–स्कर्टमा प्रयोग गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका टीकारम र टीकाकुमारीविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ । उनीहरूविरुद्ध ६ वटा जाहेरी परेको एसपी पंगेनीले बताए । उनीहरूलाई भारतीय प्रहरी र भारतीय सामाजिक संस्था किन इन्डियाको सहयोगमा ब्युरोले दिल्लीबाट पक्राउ गरेको हो । 

के हो इ–स्कर्ट ?
इ–स्कर्ट अनलाइनमार्फत यौन सम्पर्कका लागि युवती उपलब्ध गराउने वेश्यावृत्तिको आधुनिक रूप हो । जसलाई ‘कल गर्ल’ सेवा पनि भनिन्छ । यसका लागि यौनधन्दामा सहभागी गराइएका युवतीको फोटो वेबसाइटमा राखिन्छ । सँगै उनीहरूको विवरण पनि राखिन्छ । विवरणमा युवतीको उमेर, उचाइ, छालाको रङ, छाती तथा कम्मरको लम्बाइ, उपलब्ध हुने समय, उपलब्ध हुने स्थानलगायतको विवरण राखिन्छ । फोटोमा सम्पर्कका लागि फोन नम्बर अथवा ह्वाट्सएप र भाइबर नम्बर पनि राखिन्छ । ग्राहकले सोही नम्बरमार्फत इच्छाएको युवती छनोट गर्छन् । अनलाइनमार्फत शुल्क भुक्तानी गर्छन् ।

ad
ad