१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फ्रेडरिक केन्टर
२o८१ बैशाख १८ मंगलबार ११:o२:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

ताइवानको चुनाव प्रभावित बनाउने बेइजिङको अभियान

Read Time : > 3 मिनेट
फ्रेडरिक केन्टर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:o२:oo

ताइवानमा सत्तारूढ डिपिपीलाई पुनः निर्वाचित हुन नदिन बेइजिङले बहुआयामिक अभियान चलाइरहेको छ 

ताइवानको एक एनजिओमा कार्यरत सिन्थिया इयुनले फेब्रुअरीमा एक पुस्तक पसलबाट ‘इफ चाइना अट्याक्स’ नामक पुस्तक किनेकी थिइन् । त्यसको केही समयपछि उनलाई नयाँ नयाँ नम्बरबाट फोन आउन थाल्यो । मे महिनाको मध्यमा उनले तीमध्ये एउटा नम्बरबाट आएको फोन उठाईन् । ‘मैले तीनजना फरक व्यक्तिसँग कुरा गरेँ । उनीहरूले ताइवानी भएको बताए पनि ती स्पष्ट रूपमा चिनियाँ थिए,’ इयुनले भनिन् । तिनीहरू सो पुस्तक उनले किन किनिन् भन्ने जान्न उत्सुक थिए । उनले आफूलाई गुप्तचरले पछ्याएको अनुमान गरिन् ।

‘उनीहरू मलाई त्यो किताबमा अनुपयुक्त र संवेदनशील सामग्री समावेश गरिएको र त्यो प्रोपोगान्डा सामग्री पो थियो की जान्न चाहन्थे,’ उनी सम्झन्छिन् । उनीहरूले चीन र ताइवानबीच युद्ध भएमा ताइवानी सेना चिनियाँ सेनासँग तुलना गर्न नसकिने बताएका थिए । युद्धबाट बच्ने सबैभन्दा राम्रो उपाय जनवरी १३ मा हुने राष्ट्रपति र व्यवस्थापिकाको चुनावमा सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपिपी) को सट्टा विपक्षी पार्टी कुओमिन्ताङ (केएमटी)लाई भोट दिनु हो भनेर इयुनलाई भनिएको थियो । बेइजिङले ताइवानलाई चीनको हिस्सा मान्छ । उसले स्वशासित लोकतान्त्रिक टापुलाई आफ्नो नियन्त्रणमा ल्याउने आफ्नो लक्ष्य हासिल गर्न बल प्रयोग गर्ने विषयलाई अस्वीकार गरेको छैन । केएमटीले ताइवान र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध चाहन्छ भने बेइजिङले डिपिपीसँग वार्तामा संलग्न हुन अस्वीकार गरेको छ । डिपिपीलाई सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले ‘पृथक्तावादी’ भएको आरोप लगाउँदै आएको छ । डिपिपीले त्यस्ता आरोप अस्वीकार गर्छ । ताइवानका जनतालाई आफ्नो नेता र आफ्नो भविष्य छनोट गर्ने अधिकार रहेको डिपिपीले बताउँदै आएको छ ।

इयुनलाई फोन हास्यास्पद लाग्यो, तर यसले उनलाई चिन्तित पनि बनायो । किनकि फोन गर्नेहरू उनका बारेमा धेरै व्यक्तिगत जानकारी संकलन गर्न सक्षम थिए । ‘सिसिपीबाट मलाई एक सन्देश दिन खोजेका थिए । तिनले म को हो भन्ने थाहा भएको चीनविरुद्ध छु भन्ने थाहा भएको बताए ,’ इयुनले भनिन्, ‘त्यो एकदम डरलाग्दो कुरा हो ।’ 

ताइवानबारे चिनियाँ अडान : ताइवानको चुनावमा चीनले सक्रिय अडान लिइरहेको छ भन्ने विषयलाई बेइजिङले गोप्य राखेको छैन । चिनियाँ अधिकारीले आगामी चुनावलाई ‘शान्ति र युद्धबीचको छनोट’ भनेका छन् (जुन नारालाई केएमटीले प्रयोग गरेको छ ) । ताइवानका जनतालाई ‘सही छनोट’ गर्न आग्रह गरेका छन् । बेइजिङको ताइवान मामिला कार्यालयका प्रमुख सोङ ताओ र केएमटीका उपाध्यक्ष हसिया ली यानबीच फेब्रुअरीमा चीनमा भएको बैठकमा ताओले चीन केएमटीसँग घनिष्ट सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए ।

यसैबीच, सिसिपीले सन् २०१६ मा पहिलोपटक निर्वाचित भएदेखि वर्तमान राष्ट्रपति साई इङ–वेनको डिपिपी सरकारसँग वार्तामा बस्न अस्वीकार गरेको छ । यसको सट्टा बेइजिङले स्थानीय ताइवानी नेता र अधिकारीसँग प्रत्यक्ष संलग्न हुन ताइवान सरकारलाई ‘बाइपास’ गरेको छ । यस वर्षको सुरुमा चिनियाँ अधिकारीले ताइवानी स्याउको आयात प्रतिबन्धबाट दक्षिणपूर्वी ताइवान काउन्टीलाई छुट दिए । काउन्टीका एक केएमटी आयुक्तले दुईपटक चीनको भ्रमण गरेपछि यो छुट आएको हो ।

एक हजारभन्दा बढी ताइवानी नेताहरू पछिल्लो समय चीन गएका छन्, जुन यसअघिको राष्ट्रिय चुनावमा भन्दा धेरै हो । हालै, ताइवानभरका जिल्ला अभियोजकको कार्यालयले यी सयौँ विषयमा अनुसन्धान सुरु गरेका छन्, किनभने बेइजिङले यी यात्राको खर्च आंशिक वा पूर्ण रूपमा व्यहोरेका प्रमाण देखाएका छन् ।

प्रमुख सार्वजनिक व्यक्तित्वहरू पनि चुनावको मुखमा कथित चिनियाँ गतिविधिको निसाना बनेका छन् । अक्टोबरमा चीनको सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले रिपोर्ट गर्दै लगेको थियो– चिनियाँ अधिकारीले ताइवानको विशाल प्रविधि ‘फक्सकन’को चीनभित्रको गतिविधिमा राजस्व अनुसन्धान सुरु गरेका छन् । फक्सकनले चीनमा बनेका उत्पादनबाट करिब ७० प्रतिशत राजस्व उठाउँछ ।

यो घोषणा अर्बपति तथा र फक्सकनका पूर्वसिइिओ टेरी गाउले राष्ट्रपतिमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेको दुई महिनापछि आयो । कर अनुसन्धान सार्वजनिक भएपछि टेरीले धेरै अभियान कार्यक्रम रद्द गरे र केही हप्तापछि दौडबाट बाहिरिएको घोषणा गरे । अक्टोबरमा पनि चिनियाँ अधिकारीले ‘चीनविरुद्ध ताइवानको व्यापार अवरोध’मा अनुसन्धानलाई जनवरी १२ सम्म विस्तार गरे (चुनावको अघिल्लो दिनसम्म) । चीन र ताइवानबीचको राजनीतिक सम्बन्धबारे अनुसन्धान गर्ने ताइपेईको सूचो विश्वविद्यालयका सहायक प्राध्यापक फाङ–यू चेनका अनुसार चुनावको सम्मुखमा भएका यस्ता निर्णय संयोग होइनन् । ‘यो अराजकता सिर्जना गर्ने, अविश्वास जगाउने र वर्तमान डिपिपी सरकारप्रति असन्तुष्टि फैलाउने संगठित चिनियाँ प्रयासको अंश हो,’ चेनले भने ।

अनलाइन अभियान : निर्वाचनको दौरानमा ताइवानमा चीनको बढ्दो गतिविधिको रिपोर्ट सार्वजनिक भएको यो पहिलोपटक होइन । सन् २०१८ को स्थानीय चुनाव र सन् ०२० को राष्ट्रपति चुनावमा पनि हस्तक्षेपको प्रयासका विवरण सार्वजनिक भएका थिए ।

अघिल्लो चुनावमा जस्तै यसपटक पनि साइबर आक्रमण र भ्रमपूर्ण सूचना अभियान भएका छन् । गुगलले डिसेम्बरको सुरुमा विगत ६ महिनामा ताइवानको रक्षा क्षेत्र, निजी उद्योग र सरकारलक्षित चिनियाँ साइबर आक्रमणमा ठूलो वृद्धि भएको चेतावनी दिएको थियो ।

डिसेम्बरको सुरुमा प्रसारित गरिएको फ्रान्सेली वृत्तचित्रअनुसार ताइवानी प्रयोगकर्तामाझ विकृति फैलाउन टिकटक प्रयोग गरिएको घटना पनि भएका छन् । प्रयोगकर्ताका गतिविधि पनि निगरानी भइरहेका छन् ।

एइ–मेन लाउ ताइवानस्थित संगठन डबलथिंक ल्याबका एक अनुसन्धान विश्लेषक हुन् । संगठनले हानिकारक चिनियाँ प्रभाव सञ्चालन र विकृति अभियान साथै तिनीहरूको प्रभावलाई ट्र्याक गर्छ ।

धेरै हेरफेर सामग्री वा विकृतिलाई सीधा चीनमा पहिचान गर्न गाह्रो हुन सक्ने लाउ बताउँछिन् । ‘केही संदिग्ध अकाउन्ट केवल चिनियाँ कार्यालय र खाजा खाने समयमा मात्र सञ्चालन हुन्छन् र तिनीहरूले शुद्ध मिडिया सामग्री दिनमा दुई सयपटकभन्दा बढी पोस्ट गर्नेछन्,’ उनले भनिन् ।

लाउका अनुसार चिनियाँ विकृत सूचना रणनीतिहरू पनि विकसित भएका छन् । ‘हामीले पिआरसीले आफ्ना सन्देश प्रस्ट सञ्चार गर्नका लागि पत्रकार, स्थानीय सहयोगी र सोसल मिडिया प्रभावकर्ताजस्ता ताइवानी आवाज प्रयोग गरिरहेको देखिरहेका छौँ,’ उनले भनिन् ।

समन्वित प्रयास : अधिक गोप्य प्रकृतिको बाबजुद ताइवानमा निर्देशित हस्तक्षेप गतिविधिलाई शीर्ष कम्युनिस्ट पार्टीका नेताहरूले समन्वय गरेका ताइवानी खुफियाले हालै जनाएको छ । गुप्तचरहरूका अनुसार सिसिपीका चौथो स्थानका नेता वाङ हुनिङले डिसेम्बरको सुरुमा ताइवानमा चुनावलाई लक्षित गरी विभिन्न प्रयासको प्रभावकारिता सुनिश्चित गर्न केही मन्त्रालय र एजेन्सीबीच बैठक गरेका थिए ।

केन्टर अलजजिराका स्तम्भकार हुन् ।

– अलजजिराबाट

ad
ad