Skip This
रुसी सेनामा रहेका १०० नेपाली घाइते र बेपत्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Saturday, 27 July, 2024
२o८o पौष ११ बुधबार o६:o८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनामा रहेका १०० नेपाली घाइते र बेपत्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार o६:o८:oo

रुसी सेनामा रहेको आफ्नो मान्छे सम्पर्कमा नरहेको भन्दै खोजबिनका लागि सयजनाका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिए निवेदन

रुसी सेनामा कार्यरत सयजना नेपालीका परिवारले उनीहरूको खोजबिन र स्वदेश फिर्ताको पहल गरिदिन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । परराष्ट्रको कन्सुलर सेवा विभागमा सयजनाको विवरणसहित परिवारले निवेदन दिएका हुन् । 

परराष्ट्रमन्त्री एनपी साउदले निवेदनको पुष्टि गर्दै कूटनीतिक च्यानलमार्फत रुस सरकारसँग जानकारी मागिएको बताए । ‘घाइते भएको, बेपत्ता भएको भन्दै खोजबिनका लागि सयजना जतिका परिवारले निवेदन दिएका छन् । हामीले रुस सरकारसँग त्यसको वास्तविकताका सम्बन्धमा जवाफ मागेका छौँ, तर जानकारी पाइसकेका छैनौँ,’ उनले भने, ‘निवेदनको आधारमा मात्रै पनि हामीले यति–उति भनेर यकिन गर्न सक्दैनौँ । तर, परिवारजनले परराष्ट्रमा जानकारी दिइरहेका छन् । यो संवेदनशील विषय भएको हुनाले रुस सरकारको आधिकारिक जानकारी आएपछि मात्रै यकिन भन्न सकिन्छ ।’ घाइते र बेपत्ताहरू रुस र युक्रेनमा कति छन् भन्ने यकिन छैन ।

रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म सातजनाको मृत्यु भइसकेको छ । चारजना युक्रेनमा सैनिक नियन्त्रणमा रहेको औपचारिक जानकारी छ । परराष्ट्र मन्त्रालयले ४ पुसमा यसबारे सार्वजनिक गरेको थियो । सरकारका अनुसार राजापुर– १ बर्दियाका विवेक खत्री र मण्डनदेउपुर– ६ काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ– २ मोरङका विकास राई र रुन्टीगढी– ८ रोल्पाका प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा छन् । तर, युक्रेनले नेपाललाई विवेक खत्री मात्रै युद्धबन्दीका रूपमा हिरासतमा रहेको जानकारी दिएको छ । बाँकी नागरिकबारे युक्रेन सरकारले नेपाललाई आधिकारिक रूपमा जानकारी दिएको छैन । युक्रेनमा नेपालीको रिहाइका लागि सरकारले अमेरिका र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत प्रयास गरिरहेको छ ।

रुसी सेनामा कार्यरत कुन्दनसिंह नागल (थप विवरण खुल्न बाँकी), गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भएका नेपालीबारे विस्तृत जानकारी माग्दै दुईपटक चिठी लेखिसकेको छ । ‘हामीले दुईपटक पठाएको जवाफ रुसबाट आएको छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘रुसले एकपटक ६ नेपालीको निधन भएको र अर्कोपटक एकजनाको निधन भएको सूचना पठाएको छ । त्यसबाहेक हामीले सोधेको विषयमा रुसले जवाफ दिएको छैन ।’ 

नेपाल सरकारले रुसी सेनामा कार्यरत नेपाली युद्धबन्दी, घाइते र रुसी सेनामा हालसम्म भर्तीको संख्याबारे जानकारी मागेको छ । नेपालले निधन भएका आफ्ना नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरेको छ । तर, यी अनुरोधमा रुस सरकारले जवाफ दिएको छैन । 

परराष्ट्रले १६ साउन र १८ मंसिरमा विज्ञप्ति जारी गरी युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान सबैलाई सचेत गरेको भन्दै भर्तीका लागि रुस नजान पुनः आग्रह गरेको छ । तर, पछिल्लोपटक रुसले नेपाली नागरिकलाई भर्ती नलिएको रुसस्थित नेपाली दूतावासले परराष्ट्रलाई जानकारी दिएको छ । 

रुसमा प्रतिनिधिमण्डल पठाउने सरकारी गृहकार्य
सरकारले रुसी सेनामा रहेका नेपालीको संख्या र उनीहरूको अवस्थाबारे जानकारी लिन तथा उनीहरूलाई फिर्ता गर्ने सम्भावनाबारे यकिन गर्न मस्कोमा प्रतिनिधिमण्डल पठाउने गृहकार्य थालेको छ । ‘नेपालस्थित रुसी राजदूतावासमार्फत नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मस्को पठाउने इच्छा नेपाल सरकारले व्यक्त गरेको छ,’ उच्च सरकारी स्रोतले भन्यो, ‘दुई सयभन्दा बढी नेपाली रुसी सेनामा कार्यरत छन् भन्ने लगभग पुष्टि भएको छ । उनीहरूलाई स्वदेश फर्काउने विषयमा अब यहाँबाट कूटनीतिक प्रयास गरेर मात्रै पुग्दैन, प्रतिनिधिमण्डल नै पठाउनुपर्छ भन्ने छ । तर, टुंगो लाग्न बाँकी छ ।’ परराष्ट्रमन्त्री एनपी साउद वा परराष्ट्रसचिव सेवा लम्सालको नेतृत्वमा प्रतिनिधिमण्डल मस्को पठाउने विषयमा प्रधानमन्त्री प्रचण्ड चाँडै निष्कर्षमा पुग्ने स्रोतले बतायो ।

नेपालीलाई रसियन सेनामा पठाउने चारविरुद्ध मुद्दा दायर 
विद्यार्थी भिसा र भिजिट भिसाको आवरणमा नेपालीलार्ई रसियन सेनामा भर्तीका लागि पठाउने गिरोहमा आबद्ध चारजनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पुतलीसडकस्थित एपल एजुकेसन कन्सल्टेन्सी तथा युजिन कन्सल्टेन्सीका सञ्चालक सुमनकुमार लिम्बू, उनकी श्रीमती सुजाता दाहाल, कर्मचारीहरू सन्तोष नेपाल र दीपेश अधिकारीविरुद्ध ठगी मुद्दा दायर भएको हो । 

उनीहरूविरुद्ध दुई छुट्टाछुट्टै मुद्दा दायर भएको छ । एउटा मुद्दामा ६५ लाख तथा अर्काेमा १८ लाख ६५ हजार बिगो कायम गरी मुद्दा दायर भएको हो । रसियाको सेनामा भर्ना भई भागेर आएका व्यक्तिहरूको जाहेरीका आधारमा मुद्दा दायर भएको काठमाडौं परिसरले जनाएको छ । उनीहरूले एकै व्यक्तिसँग १३ लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ । 

केहीलाई विद्यार्थी भिसा तथा केहीलाई भिजिट भिसामा रसिया पठाएर त्यहाँको सेनामा भर्ना गरिएको थियो । भर्ना भएकाहरूलाई युक्रेनसँगको युद्धमा लगाइएको छ ।