Skip This
भूकम्पले भत्काएको कोठाभित्र जोखिमपूर्ण कक्षा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ९ सोमबार
  • Saturday, 27 July, 2024
कक्षा पाँचका विद्यार्थीलाई पढाउँदै घटालमाडौं आधारभूत विद्यालयका प्रधानाध्यापक खम्मबहादुर रावत । कक्षा सञ्चालनका लागि सरकारी निकायबाट अस्थायी टहरा निर्माण गर्ने सामग्री पनि नपाउँदा विद्यार्थी जोखिम मोलेर पढिरहेका छन् ।
गगन अयडी बाजुरा
२o८o पौष ९ सोमबार o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भूकम्पले भत्काएको कोठाभित्र जोखिमपूर्ण कक्षा

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o पौष ९ सोमबार o६:१६:oo

जस्तापाताले छाएको एककोठे कच्ची भवन । झ्याल र ढोकापट्टिको भित्ता आधा भत्केको छ, ढुंगा र माटो कोठाभित्रै छरपस्ट छ । तर, यही कोठामा कक्षा पाँचका १२ विद्यार्थी पढ्छन्, ढुंगामाथि काठमा फल्याक बिछ्याएर । बझाङ केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निच्युडको भूकम्पले बाजुराको खप्तड छेडेदह गाउँपालिका– ५ डोगडास्थित घटालमाडौं आधारभूत विद्यालयको कच्ची भवन भत्काएको थियो । तर, कक्षा सञ्चालनका लागि सरकारी निकायबाट अस्थायी टहरा निर्माण गर्ने सामग्री पनि नपाउँदा विद्यार्थी जोखिम मोलेर पढिरहेका छन् ।

शुक्रबार विद्यालयमा पुग्दा प्रधानाध्यापक खम्मबहादुर रावत भत्किएको कोठाभित्रै विद्यार्थी पढाइरहेका दिए । ‘भूकम्प जाँदा पनि म यही कोठामा पढाउँदै थिएँ, पर्खाल भत्किएर मेरो छोरा (प्रमोद)को खुट्टा च्यापिएको थियो,’ प्रधानाध्यापक रावतले भने, ‘अरू ठाउँमा पढाउन कोठा छैन । त्यसैले गणित र अंग्रेजी भत्केको कोठामै पढाउँछौँ भने अरू विषय चउरमा पढाउने गरेका छौँ ।’ उनका अनुसार कक्षा पाँचमा १४ विद्यार्थी भर्ना भए पनि १२ जना मात्रै नियमित आउँछन् । पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा अन्य कक्षाका विद्यार्थीलाई भने मुस्किलले कोठा पुगेको छ । 

प्रधानाध्यापक रावतका अनुसार कक्षाकोठा भत्किएपछि नेपाल रेडक्रसका प्रतिनिधि विद्यालयमा आएका थिए । अस्थायी कक्षा सञ्चालनका लागि सहयोग गर्ने वाचा पनि गरे । तर, उनीहरू फर्किएर आएनन् । ‘रेडक्रसले कक्षा चलाउन टेन्ट सहयोग गर्ने आश्वासन दिएको थियो, तर अहिलेसम्म केही सहयोग भएको छैन,’ उनले भने, ‘गाउँपालिका र जिल्ला प्रशासन पनि धायौँ, केही सहयोग भएन ।’ 

भत्केको कोठामा कक्षा लिँदा बालबालिका त्रासमा छन् । कक्षा पाँचमा अध्ययनरत कमल विकले भने, ‘धेरैजसो समय त खुला चउरमा पढ्छौँ, गणित शिक्षकले लेखेरै पढाउनुपर्ने विषय भएकाले कोठामै पढ्नुपर्छ, डराइडराई कक्षामा बस्छौँ ।’ 
भूकम्पले कच्ची भवनको भित्ता भत्काउँदा सेतोपाटी पनि क्षतिग्रस्त भएको थियो । तर, विद्यालयले तीन हजार खर्चेर कैलालीको धनगढीबाट नयाँ सेतोपाटी किनेको छ ।

भूकम्पको तीन महिनासम्म पनि अस्थायी कक्षा सञ्चालनका लागि जोहो नभएपछि यहाँ भत्केकै कोठामा कक्षा चलिरहेको हो । ‘अचेल घाम लाग्ने गरेको छ, त्यही भएर गणित, अंग्रेजीबाहेकका कक्षा चउरमा चलाइरहेका छौँ,’ रावतले भने, ‘पानी पर्‍यो वा बादलले ढाक्यो भने त दिनभर भत्केकै कोठामा कक्षा चलाउनुपर्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रावतले भवन निर्माणका लागि प्रदेश र गाउँपालिकासँग माग गरे पनि कुनै सुनुवाइ नभएको बताए । ‘जाडो बढेको छ, चउरमा पनि पढाउन सकिँदैन,’ उनले भने । केही वर्षअघि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण भएको तीनकोठे पक्की भवन पनि भूकम्पले चर्किएको छ । ‘तला थप्ने योजना थियो, अब नहुने भयो,’ व्यवस्थापन समिति अध्यक्ष रावतले भने । ०६३ मा स्थापना भएको यो विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा पाँच सम्म एक सय ८० विद्यार्थी छन् । डोगडामा अधिकांश दलित समुदायको बसोवास छ । भूकम्पले डोगडा बस्तीमा ९० परिवारका घर भत्काएको थियो ।