१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीति समीक्षापछि चार खर्ब बढ्यो पुँजीकरण

दशमध्येमा आठ दिन लगातार सेयर बजारमा हरियाली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१o:oo

मौद्रिक नीतिपछि सेयर लगानीकर्ताको बजार पुँजीकरण बढेको छ । गत कात्तिक २२ मा राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि लगानीकर्ताको बजार पुँजीकरण चार खर्ब रुपैयाँले बढेको हो । मौद्रिक नीति जारी हुनु एक दिनअघि कात्तिक २१ मा बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । तर, मौद्रिक नीतिपछि सेयर बजार दुई सय ६८ दशमलव शून्य तीन अंकले बढ्दा लगानीकर्ताको लगानी पनि बढेको हो । लगानी बढेसँगै बजार पुँजीकरण बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

मौद्रिक नीतिपछि १० दिन खुलेको सेयर कारोबारमा आठ दिन नेप्से सूचक बढेको छ भने दुई दिन घटेको छ । यसबीचमा करिब एक वर्षयताकै सर्वाधिक कारोबारसमेत हुन पुगेको थियो । लामो समयदेखि नेप्से सूचक र कारोबार दुवै बढ्न नसकेको अवस्थामा मौद्रिक नीतिको बलमा नेप्से एक हजार आठ सयको मनोवैज्ञानिक विन्दुबाट उक्लिएर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा आइपुगेको छ । यस साता पाँच दिन भएको कारोबारमा नेप्से सूचक चार दिनसम्म लगातार बढेको थियो भने अन्तिम दिन बिहीबार नेप्से सूचक ३२ दशमलव ७७ अंकले घटेको थियो । 

मौद्रिक नीतिपछि सेयर कारोबार १० दिनमा ५० अर्ब ७५ करोड रुपैयाँको भएको छ । जसमा औसत दैनिक कारोबार चार अर्ब ६१ करोड रुपैयाँको भएको छ । मौद्रिक नीतिको समीक्षामा सेयर बजारका लागि नीतिगत केही सुधार भएको थियो, जसले महिनौँसम्मको सुस्त कारोबारलाई उत्साहमा बदल्न पुगेको थियो । मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो । 

यसपछि लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको बताउँदै आएका छन् । लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बजारले एउटा बहाना खोजिरहेको अवस्थामा मौद्रिक नीति समीक्षाले निराश लगानीकर्तालाई उत्साहित बनाएको बताए । उनले भने, ‘महिनौँसम्म बजारको एउटै गतिले लगानीकर्ता निराश बनेका थिए, वर्षौँसम्मको निराशा अहिलेको बजारमा देखिएको मात्र हो ।’

लगानीकर्ता छोटेलाल रौनियारले बैंकको ब्याजदर मौद्रिक नीतिको समीक्षालगायत सेयर बजारका लागि आवश्यक पक्ष सकारात्मक बन्न पुगेको अवस्थामा बजार सकारात्मक भएको बताए । उनले भने, ‘लामो समयसम्म लगानीकर्ताको निराशा र बजार बढेसँगै लगानीकर्तामा थपिएको उत्साहले बजार थप अर्को विन्दुमा प्रवेश गर्न सक्छ ।’