१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सेनाको अधिकृत भर्नामा पाँच वर्षदेखि मागभन्दा न्यून उत्तीर्ण

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२१:oo

नेपाली सेनाको अधिकृत क्याडेट (सहायक सेनानी)को भर्नामा विगत पाँच वर्षदेखि मागभन्दा न्यून मात्र उत्तीर्ण हुँदै आएका छन् । यसले सेनाको अधिकृत तहमा रिक्त दरबन्दी बढ्दै गएको छ । 

लिखित परीक्षामै न्यून उत्तीर्ण हुने र लिखितमा उत्तीर्ण भएकाहरू पनि अन्तर्वार्तालगायतका अन्य परीक्षामा अनुत्तीर्ण हुँदा मागभन्दा कम भर्ना हुने गरेका छन् । गत वर्ष सेनाले दुई सय २९ जना माग गरेकोमा दुई सय १० जना मात्र उत्तीर्ण भएका थिए । यो वर्ष पनि सेनाले दुई सय २९ जनाको विज्ञापन खुलाएर परीक्षा प्रक्रिया सुरु गरिसकेको छ । 

सेनाबाट प्राप्त पछिल्लो पाँच वर्षको विवरणअनुसार कुनै पनि वर्ष मागअनुसार उत्तीर्ण हुन सकेका छैनन् । ०७८ मा दुई सय २९ जना माग भएकोमा एक सय ३० जना मात्र उत्तीर्ण भए । ०७७ मा दुई सयजनाको माग गरिएको थियो, एक सय ६५ मात्रै उत्तीर्ण भए । धेरै पद रिक्त भएपछि ०७६ मा सेनाले दुईपटक भर्ना खुलाएको थियो । पहिलो चरणमा दुई सय ५० जना माग भएकोमा एक सय तथा दोस्रो चरणमा एक सय ५० को माग गरिएकोमा एक सय दुईजना मात्र उत्तीर्ण भए । त्यस्तै, ०७५ मा दुई सयजनाको माग गरिएकोमा एक सय ५५ जना भर्ना भएको सेनाको तथ्यांक छ । त्यसअघिका वर्षहरूमा पनि मागभन्दा कम पास भएका थिए । 

सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जिटिओ, मेडिकललगायत परीक्षामा न्यूनतम प्राप्तांक ल्याउन नसक्दा धेरै फेल हुने गरेको र मागअनुसारको संख्या उत्तीर्ण नहुने गरेको बताए । यसबाट धेरै पद रिक्त हुने भएकाले स्वाभाविक रूपमा समस्या हुने गरेको उनको भनाइ छ । 

देशमा बेरोजगारी उच्च हुँदा पनि सेनाको भर्नामा सर्वसाधारणको आकर्षण घट्दै गएको छ । यो वर्ष दुई सय २९ जनाको मागमा तीन हजार आठ सय चारजनाको आवेदन परेको छ । गत वर्ष पनि यही हाराहारी आवेदन परेका थिए । ०७९ मा तीन हजार आठ सय ३९ र  ०७८ मा पाँच हजार नौ सय पाँचजनाको आवेदन परेको थियो । 

सैनिक प्रवक्ता भण्डारीले दुई सय माग्दा तीन हजारभन्दा धेरै आवेदन पर्नुलाई कम भन्न नहुने बताए । तर, बेरोजगारी अवस्थाका आधारमा भने आवेदन अपेक्षाकृत नभएको उनको भनाइ छ । 

इन्स्पेक्टरको भर्नामा पनि न्यून आवेदन 
नेपाल प्रहरीले यो वर्ष खुलाएको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्नामा पनि न्यून आवेदन परेको छ । ९६ जना इन्स्पेक्टरको मागमा दुई हजार सात सय ९३ मात्र आवेदन परेको छ । 

प्रहरी सहायक निरीक्षक(असइ)मा भने उच्च आवेदन परेको छ । दुई सय ६० जनाको मागमा १९ हजार नौ सय ३२ को आवेदन परेको छ । 

इन्स्पेक्टरको भर्नामा विगतमा पनि न्यून मात्र आवेदन पर्ने गरेको छ । गत वर्ष एक सय ४६ जनाको मागमा दुई हजार सात सय ७८ मात्र आवेदन परेको थियो । त्यसमा पनि कतिपय विभागीय (प्रहरीकै तल्ला तहका कर्मचारी) हुने गरेका छन् । 

प्रहरी भर्नामा आकर्षण घटेपछि नेपाल प्रहरीले दुई वर्षअघि त्यसबारे अध्ययन नै गरेको थियो । जसमा कम सेवा–सुविधा मुख्य कारण देखिएको थियो । पछिल्लो समय युवापुस्तामा बढेको विदेशमोहले पनि सुरक्षा निकायको जागिरमा आकर्षण घटेको हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।

ad
ad