१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, युक्रेनमा चारजना बन्धक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१४:oo

परराष्ट्र मन्त्रालयले भन्यो– रुसमा मृत्यु भएकाको शव ल्याउन र युक्रेनमा बन्धक भएकालाई छुटाउन कूटनीतिक प्रयास जारी

रुसी सेनामा कार्यरत नेपालीमध्ये थप एकजनाको मृत्यु भएको छ । हालसम्म रुस र युक्रेन युद्धमा परी मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । राहदानी नम्बर ०९४७३६३२ रहेका कुन्दनसिंह नागलको मृत्यु भएको जानकारी रुसले दिएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी थप एकजनाको मृत्यु भएको र युक्रेनमा थप दुईजना त्यहाँको सेनाको नियन्त्रणमा रहेको जनाएको छ । 

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको थियो । मृत्यु भएका नागलको विस्तृत विवरण भने परराष्ट्रले सार्वजनिक गरेको छैन । 

युक्रेनमा बन्दी अवस्थामा चारजना नेपाली रहेका छन् । रुसी सेनामा कार्यरत रहेको अवस्थामा युद्धका क्रममा उनीहरू युक्रेनी सैनिकको नियन्त्रणमा रहेका हुन् । यसअघि बर्दियाको राजापुर नगरपालिका– १ का विवेक खत्री र काभ्रेको मन्डनदेउपुर नगरपालिका– ६ का सिद्धार्थ ढकाल मात्रै बन्दी थिए । दुईजना थपिएका हुन् । परराष्ट्रका अनुसार थप दुई बन्दीमा मोरङको लेटाङ नगरपालिका– २ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका– ८ का प्रतीक पुन छन् । 

‘युक्रेनमा चारजना नेपाली नागरिकलाई बन्दी बनाएको सन्दर्भमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ परराष्ट्र मन्त्रालयले बुधबार निकालेको विज्ञप्तिमा भनेको छ, ‘बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ । साथै, निजहरूको रिहाइ र नेपाल फिर्तीका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समितिलगायत अन्य माध्यमबाट पनि कूटनीतिक पहल भइरहेको जानकारी गराइन्छ ।’

शव पठाउन, क्षतिपूर्ति दिन र नेपालीलाई फर्काउन माग
परराष्ट्रले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः अनुरोध गरिएको जनाएको छ । रुसी राजदूतमार्फत सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएकालाई तत्काल नेपाल फर्काउन पनि अनुरोध गरेको छ । ‘रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाबारे रुसी सरकारबाट आधिकारिक रूपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखिएको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । 

एनओसी लिएर मात्रै रुस जान अपिल
सरकारी कामकाज, रुस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्दा कन्सुलर सेवा विभागबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन परराष्ट्रले अनुरोध गरेको छ । यो व्यवस्थालाई विस्तार गरी सरकारले भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरबिया, कुवेत, कतार र बहराइनबाट रुस यात्रा गर्नुपरेमा ती देशमा रहेका नेपाली दूतावास तथा महावाणिज्य दूतावासबाट जारी गरिने एनओसी लिन परराष्ट्रले अपिल गरेको छ । परराष्ट्रले १६ साउन र १८ मंसिरमा विज्ञप्ति जारी गरी युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजान सबैलाई सचेत गरेको पनि पुनः स्मरण गराएको छ । ‘परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको पुनःस्पष्ट गरिन्छ,’ परराष्ट्रले भनेको छ ।