१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १o:५७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजमार्गमा उखु किसानको सुतेर प्रदर्शन

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १o:५७:oo

इन्दुशंकर चिनी मिलको मूलगेटअगाडि शेष इस्तिहार आमरण अनशनमा

उखुको उचित समर्थन मूल्य तथा अनुदानबापतको बाँकी रकम माग गर्दै आन्दोलनरत सर्लाहीका किसानहरूले सोमबार पूर्व–पश्चिम राजमार्गमा सुतेर प्रदर्शन गरेका छन् । किसानहरू राजमार्गमा सुतेपछि केहीबेर सवारी आवागमनसमेत अवरुद्ध बनेको थियो । धमाधम उखु काटेर बिक्रीमा जुट्नुपर्ने किसानहरू केही दिनदेखि आन्दोलनमा होमिएका छन् । सरकारले उखु किसानहरूलाई उपेक्षा गरेर समर्थन मूल्य समयमै नतोकेको तथा ७० रुपैयाँ अनुदानको रकममध्ये २१ रुपैयाँ मात्र भुक्तानी गरेको उनीहरूको आरोप छ । 

आन्दोलनको तेस्रो दिन आइतबार पनि उखु किसानहरूले राजमार्गमा जम्मा भएर अर्थ र कृषि तथा पशुपक्षी मन्त्रालयका उपसचिवको कुर्चीको प्रतिमा बनाएर दहन गरेका थिए । दुई मन्त्रालयले किसानको हितमा नभई उद्योगीको पक्षमा पैरवी गर्ने गरेको किसान प्रतिनिधिहरूको आरोप छ । राज्यले किसानप्रति गरेको अवहेलनाको मूल्य चुकाउनुपर्ने किसानहरूले चेतावनीसमेत दिएका छन् । पूर्वसांसद डिल्लीप्रसाद उप्रेतीले सरकारले उखु किसानलाई आन्दोलनमा उत्रिन बाध्य बनाएको बताए ।

किसानहरूले उखुको लाँक्रा प्रदर्शनदेखि राजमार्गमा लम्पसार पर्नेसम्मका विरोधका कार्यक्रम आयोजना गरेका छन् । किसानको आन्दोलनले जिल्लाका चिनी उद्योगसमेत बन्द हुँदा उनीहरू मर्कामा परेका छन् । चिनी उद्योग बन्द हुँदा अन्य बाली लगाउनुपर्ने तथा खुट्टी (दुई वर्षे) उखु भएका किसानहरू बढी मारमा परेका छन् । 

केही वर्षदेखि उखुको समर्थन मूल्य कायम गर्दै आएको सरकारले यस सिजनको उखुको मूल्य अझै तोक्न सकेको छैन । सर्लाहीका उखु किसानहरूले भने यस वर्षको उखुको समर्थन मूल्य सात सय ५० रुपैयाँ हुनुपर्ने मागसमेत राखेका छन् । किसानको लागत तथा उद्योगबाट उत्पादन हुने सामग्रीको हिसाबले समर्थन मूल्य तोक्न उनीहरूको माग छ । तर, सरकारले चिनीको मूल्य, किसानको लागत तथा उखु पेलाइबाट उद्योगले निकाल्ने सामग्रीको वास्ता नगरेर हचुवाको भरमा तोकेको मूल्यमा किसानलाई उखु बेच्न बाध्य बनाउन खोजेको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

उखु किसानमाथि हदैसम्मको अन्याय भएको भन्दै हरिवन नगरपालिका– ११ का शेष इस्तिहार इन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनशनमा बसेका छन् । किसानको पक्षमा विभिन्न ६ बुँदे मागसहित उनी सोमबारदेखि आमरण अनशन बसेका हुन् । किसान देशको अन्नदाता भएकाले चरम मारमा परेका किसानको माग सम्बोधनमा पहल गर्न आमरण अनशन बसेको उनले बताए । सरकारले किसानको माग सम्बोधन नगरेसम्म आमरण अनशन नतोड्ने उनले बताए । इस्तिहार गत स्थानीय तहको निर्वाचनमा हरिवन नगरपालिका– ११ मा वडाध्यक्षको प्रत्याशीसमेत थिए ।