मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Thursday, 06 February, 2025
२o८o पौष ३ मंगलबार o९:३६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरले मनायो १०५औँ वार्षिकोत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार o९:३६:oo

देशकै जेठो नगरपालिका ललितपुर महानगरपालिकाले १०५औँ वार्षिकोत्सव मनाएको छ । महानगरपालिका परिसरमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो । 

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार नागरिकको घरदैलो तथा नजिकको सरकार भएकाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । उनले केन्द्र सरकारले गरेका काम–कारबाहीका बारेमा स्थानीय तहले खुलेर प्रशंसा नगरेको र कतिपय गलत सूचना पनि प्रवाह हुँदै आएकोप्रति जनप्रतिनिधिलाई सचेत गराए । ‘प्रदेश र स्थानीय तहका निम्ति राम्रो बनाउन खोज्दै छु, मैले गरेको सकारात्मक कामलाई प्रशंसा नगर्नु मेरो सोचलाई प्रोत्साहन नगर्नु हो,’ उनले भने, ‘प्रधानमन्त्रीले राम्रो गरे भनेर भन्न हाम्रा जनप्रतिनिधि किन तर्सिएका, किन सकारात्मक रूपमा हेरिएको छैन ?’ 

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लक्षित गर्दै बागमती करिडोरमा हस्तक्षेप, फोहोरमैला व्यवस्थापन, तिनकुने पार्कलगायत विषयमा सरकार लचिलो भएर समन्वय गरिरहेको बताए । प्रधानमन्त्रीले गरेका कामको व्याख्या गर्न जनप्रतिनिधिहरू हिचकिचाएको उनले आरोप पनि लगाए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले समग्र काठमाडौं उपत्यकाको विकास एकैचोटि हुनुपर्ने बताए ।

काठमाडौं र ललितपुर महानगर आपसमा सम्बन्धित भएकाले एउटाको मात्रै विकासले उपत्यका सुन्दर र विकास हुन नसक्ने मेयर साहको भनाइ छ । तर, संघीय र स्थानीय कानुन बाझिँदा स्थानीय सरकारलाई काम गर्न गाह्रो भएको उनको गुनासो छ । ‘यो सम्पूर्ण उपत्यकाको विकास एकैचोटि हुनुपर्छ । सबै पालिकाहरू एकैचोटि बढ्नुपर्ने देखिन्छ । त्यसका लागि केही कुरा त हामी मेयर–उपमेयरहरू बसेर पनि सल्टाउन सक्छौँ । तर, कुनै–कुनै कुराहरू यस्ता छन्, जुन संघीय कानुन र स्थानीय कानुन बाझिएका छन्,’ उनले भने ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा क्षेत्रमा सार्वजनिक खरिद ऐन, ०६३ लागू गर्दा काम गर्न सकस भएको र सम्पदा क्षेत्रसमेत जोखिममा परेको बताउँदै सम्पदा क्षेत्रका लागि अर्को कुनै नियम बनाउनुपर्ने बताए ।