मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर २८ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २८ बिहीबार १९:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनगढी एफसीको अपराजित यात्रा कायमै, एफसी चितवनलाई हराउँदै शीर्ष स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २८ बिहीबार १९:४४:oo

दोस्रो मिनेटमै ओलावाले अफिजले गरेको गोलको मद्दतमा एफसी चितवनलाई १ - ० ले हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) २०२३ को शीर्ष स्थानमा उक्लिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज लिगको पाँचौँ खेल खेलेको धनगढी एफसी यस जितसँगै ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। 

आजको जितसँगै धनगढीले एनएसएलको दोस्रो संस्करणमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ।

खेलको सुरुवातदेखि नै आक्रामक बनेको धनगढीले दोस्रो मिनेटमै अग्रता बनाएको थियो। रोहन कार्कीको पासमा ओलावालेले बक्सको दायाँबाट क्रस गरेको बल चितवन गोलरक्षक विशाल श्रेष्ठलाई माथिबाट बिट गर्दै पोस्टभित्र प्रवेश गरेको थियो। 

अप्रत्याशित रूपमा सुरुमै गोल खान पुगेको चितवन खेलमा फर्कन लगातार प्रयासमा रह्यो। यस क्रममा पहिलो हाफको इन्जुरी समयमा एफसी चितवनले पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो। 

तर, विमल घर्तीमगरले गरेको पेनाल्टी प्रहारलाई धनगढीका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि बराबरीको मौका चुकेको हो। लिगमा पहिलो खेल खेलिरहेका टिकेन्द्रले आज अन्य केही सशक्त प्रहार बचाउँदै आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरे। 

दोस्रो हाफमा पनि निरन्तर प्रयास गरेको चितवनले गोल फर्काउन नसकेपछि हाफिजको गोल नै निर्णायक साबित भयो। पाँचौँ खेल खेलेको धनगढी एफसीले तीन खेलमा जित र दुईमा बराबरी खेलेको छ। 

उता, छैटौँ खेल खेलेको एफसी चितवनको भने एक जित, दुई बराबरी र तीन हारका साथ जम्मा पाँच अंक छ। चितवन लिगको सातौँ स्थानमा रहेको छ।