
एसिसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई दुई सय ६२ रनको विशाल लक्ष्य दिएको छ।
युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल– २ मा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा दुई सय ६१ रनको योगफल बनायो।
जमसिद जद्रानको शतकीय इनिङमा अफगानिस्तानले विशाल लक्ष्य तयार गरेको हो। एक सय ५२ बल खेलेका उनले सर्वाधिक १०६ रन बनाए। ब्याटिङ गर्ने क्रममा बलले खुट्टामा लागेर घाइते भएपछि उनी मैदानबाट बाहिरिए।
अफगानिस्तानका नुमन साहले ६०, रहिमुल्लाह जुरमतिले ३५, वफिउल्लाह तरखिलले १५, खलेल अहमदले १३ र खलिद तनिवालले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले समान दुई–दुई विकेट लिँदा आकाश चन्द र दीपेश कँडेलले समान १–१ विकेट लिए।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो।