
भोजमा सहभागी भएका ३५ जनामध्ये १८ जनामा फुड पोइजन
लमजुङको सुन्दरबजार नगरपालिका- ८ मा सामूहिक भोज खाएका व्यक्तिहरू बिरामी भएका छन् । सामूहिक भोजमा सहभागी भएकामध्ये १८ जना सुन्दरबजारस्थित एचडिसिएस नमुना सामुदायिक अस्पताल भर्ना भएका छन् भने एकजनाको निधन भएको छ।
फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका- ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सुन्दरबजार नगरपालिका- ८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोजको आयोजना गरिएको थियो ।
भोज खाने ३५ जनामध्ये १८ जनामा फुड पोइजन भएको छ । उनीहरू अहिले अस्पताल भर्ना भइसकेको एचडिसिएस नमुना सामुदायिक अस्पतालले जनाएको छ ।
शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नं. ८ र ९ का व्यक्ति हिजो शनिबारदेखि बिरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरू शनिबार बेलुका अस्पताल पुगेका थिए । भोजमा सहभागी व्यक्तिहरू आइतबार बिहानसम्म अस्पताल आइरहेका छन् ।
अस्पताल आएका बिरामीहरूमा ज्वरो र झाडापखालाको समस्या देखिएको छ । भोजमा सहभागीहरूले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् ।