१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मुना कुँवर काठमाडाैं
२०८० मङ्सिर २४ आइतबार ०९:५५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रिमियमबापत आम्दानी भएको रकम चुक्ता पुँजीमा जोड्न पाउने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० मङ्सिर २४ आइतबार ०९:५५:००

अब चुक्ता प्रिमियम सेयर जारी गरेका बिमा कम्पनीहरूले प्रिमियमबापत आम्दानी भएको रकम चुक्ता पुँजीमा जोड्न पाउने भएका छन् । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई पुँजी वृद्धिमा सहज बनाउन प्रिमियमबापतको आम्दानी रकम चुक्ता पुँजीमा जोड्न सकिने नयाँ व्यवस्था गरेको हो । 

नयाँ व्यवस्थाअनुसार प्रिमियममा सेयर जारी गरेका कम्पनीले प्रिमियमबापत भएको आम्दानी (किताबी मूल्य १०० भन्दा माथिको) छुट्टै कोषमा राखेका छन् । सो रकम अब लाभांश (बोनस सेयर)मार्फत लगानीकर्तालाई बाँडेर पुँजी बढाउन पाउने व्यवस्था प्राधिकरणले गरेको हो । साधारण सेयर जारीपछि पनि तोकिएको पुँजी कायम गर्न नसकेको बिमा कम्पनीका लागि प्राधिकरणले यस्तो सुविधा दिएको हो । प्राधिकरणका अनुसार हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल र रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपिओ निष्कासन गरेका छन् । प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड पुँजी कायम गर्नुपर्छ ।

चार कम्पनीको सात अर्ब प्रिमियम कोषमा
बिमा प्राधिकरणको तथ्यांकअनुसार प्रिमियममा आइपिओ जारी गरेका चार जीवन बिमा कम्पनीको करिब सात अर्ब रुपैयाँ प्रिमियम बिमा कोषमा छ । सिटिजन्स लाइफ इन्स्योरेन्सले तीन अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न सकेको छ । कम्पनीको प्रिमियम कोषमा भने एक अर्ब ५५ करोड छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब पुगेको छ । कम्पनीको प्रिमियम कोषमा एक अर्ब ५३ करोड छ । यसका साथै चार अर्ब चुक्ता पुँजी रहेको रिलायबल नेपाल इन्स्योरेन्सको प्रिमियम कोषमा एक अर्ब ७५ करोड छ । यसैगरी, हाल तीन अर्ब २० करोड चुक्ता पुँजी रहेको सन नेपालको प्रिमियम कोषमा एक अर्ब ८० करोड छ । प्राधिकरणको नयाँ व्यवस्थाअनुसार यी कम्पनीले प्रिमियम कोषमा रहेको पैसा लाभांश (बोनस) सेयरमार्फत चुक्ता पुँजीमा थप गर्न पाउने प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए । 

प्राधिकरणले चुक्ता पुँजी कायम गर्न मर्जरलाई पहिलो प्राथमिकतामा राखेको थियो । जसअनुसार धेरै कम्पनी मर्जरमा गए । मर्जरपछि पनि चुक्ता पुँजी कायम गर्न नसकेका कम्पनीलाई प्राधिकरणले ३० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो । 

त्यस्तै, प्राधिकरणले कम्पनीका सञ्चालकलाई पुँजी थप गरी चुक्ता पुँजी कायम गर्न सकिने व्यवस्था पनि गरेको थियो । लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीको भारतस्थित माउ कम्पनीले पुँजी थप गरी चुक्ता पुँजी कायम गरेको छ । साथै, एनएलजी नेपालको हकमा पनि माउ कम्पनी नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पुँजी थप गर्ने भएको छ ।

पुँजी कायम गर्न नसक्दा पटक–पटक समय थप
बिमा कम्पनीहरूले तोकिएको समयमा पुँजी कायम गर्न नसक्दा प्राधिकरणले पटक–पटक समय थप गरेको छ । यसरी थपिएको समयमा पनि कम्पनीहरूले पुँजी कायम गरिसकेका छैनन् । प्राधिकरणका अनुसार अधिकांश कम्पनीले पुँजी कायम गर्नका लागि योजना बुझाएका छन् । योजना बुझाएका कम्पनीहरू पुँजी जुटाउने कार्यमा छन् । तर, नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीले भने पुँजी जुटाउन ढिलाइ गरेको प्राधिकरणका प्रवक्ता पौडेलले बताए । यी कम्पनीहरूले सम्पत्ति बिक्री गरी पुँजी जुटाउने योजना बुझाएका थिए । योजना बुझाइसकेका कारण प्राधिकरणले कारबाहीको प्रक्रिया अगाडि नबढाएको प्रवक्ता पौडेलले बताए । ‘कम्पनीहरूले पुँजी कायम नगरेपछि योजना भने बुझाएका छन् । त्यसैले यी कम्पनीलाई हामीले योजनाअनुसार काम गर्न दिएका छौँ,’ उनले भने । 

योजनाअनुसार नेपाल र प्रभु इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बिमा कम्पनीमा भएको सेयर बिक्री गरेको उनले बताए । यसपछि पनि कम्पनीको पुँजी कायम नभएमा अन्य विकल्प सोचिने उनले बताए । 

नेपालको बजारअनुसार कम्पनीको संख्या अधिक भएपछि प्राधिकरणले कम्पनीको संख्या घटाउने नीति अगाडि सार्दै पुँजी वृद्धिका लागि निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड पुँजी कायम गर्नुपर्छ । कम्पनीहरूले ०७९ चैतसम्ममा नै पुँजी जुटाइसक्नुपर्ने थियो । तर, तोकिएको समयमा धेरै कम्पनीले पुँजी जुटाउन सकेनन् । तसर्थ, प्राधिकरणले ०८० असारसम्ममा पुँजी जुटाउन समय थप गरेको थियो । 

पुँजी जुटाउनकै लागि मर्जरमा गएपछि अहिले नेपालमा १४–१४ वटा जीवन तथा निर्जीवन बिमा कम्पनी कायम भएका छन् । त्यसमा जीवन बिमातर्फ नेपाल लाइफ, हिमालयन लाइफ र नेसनल लाइफले तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । यसैगरी, निर्जीवनतर्फ प्रिमियर, सगरमाथा लुम्बिनी, शिखर र आइजिआई प्रुडेन्सियलले तोकिएअनुसार पुँजी कायम गरिसकेका छन् । अन्य कम्पनीले भने योजना बझुाएर प्रक्रिया अगाडि बढाएका छन् । यसअघि जीवन बिमा कम्पनीको दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँको न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो ।