
चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
शनिबार साँझ माडी नगरपालिका– १ बरुवास्थित चिताई खोलाको पुलमा लु.२च २५०८ नम्बरको बाेलेरोले बागमती प्रदेश ०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलचालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकलपछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते छन्।
तीनैजना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुन् । बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मृतक अधिकारी माडी नगरपालिका– १ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका– ३ आग्रिगाउँ निवासी हुन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।