मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २१ सोमबार
  • Monday, 04 March, 2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिनेको भिड (फाइल तस्बिर)
मुना कुँवर काठमाडाैं
२०८० मङ्सिर २४ आइतबार ०६:२६:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

श्रमका लागि १४४ देशमा नेपाली

Read Time : > 5 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० मङ्सिर २४ आइतबार ०६:२६:००

- वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देशमा जान सकिने व्यवस्था छ । द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि पुगेका छन् नेपाली श्रमिक । 

- गत आर्थिक वर्ष ०७९/८० मा मात्रै ७ लाख ७१ हजार ३२७ (६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला)ले १४४ देशका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यीमध्ये ४ लाख ९४ हजार २२४ (४ लाख ४० हजार ७२४ पुरुष र ५३ हजार ५०० महिला) ले नयाँ श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगारीका सिलसिलामा नेपाली युवा विश्वका एक सय ४४ मुलुकमा छन् । गत आर्थिक वर्ष ०७९/८० मा ७ लाख ७१ हजार ३२७ नेपालीले संस्थागत र व्यक्तिगत रूपमा १४४ देशमा रोजगारीका लागि जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । उनीहरूमध्ये ६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला छन् ।

सरकारले भने वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देशमा जान सकिने व्यवस्था गरेको छ । नेपाली श्रमिक द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि पुगेका छन् । रोजगारीका लागि सरकारले धेरै मुलुक खुला गरे पनि हालसम्म ११ मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ । 

सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिम मानिएका देशमा पनि नेपाली श्रमिक श्रम स्वीकृति लिएरै गएको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा विभागबाट श्रम स्वीकृति लिएर ३७ नेपाली युवा युगान्डा पुगेका छन् । त्यस्तै, ६ जनाले रुवान्डाका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ । घानाका लागि १२, माली २२, सोमालिया २०, सुडान सात, रसिया तीन सय ८६, इथियोपियाका लागि नौ नेपाली युवाले श्रम स्वीकृति लिएका छन् । यीबाहेक अवैधानिक प्रक्रियामार्फत चरम द्वन्द्वमा परेको युक्रेनजस्तो मुलुकमा समेत नेपाली पुगेका छन् । तर, यसको आधिकारिक तथ्यांक भने सरकारसँग छैन । 

सरकारले श्रम स्वीकृतिका लागि रोक लगाए पनि जोखिमपूर्ण मुलुकमा नेपाली युवा पुगेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी स्विकार्छन् । ‘म्यानपावर व्यवसायीले नपठाए पनि अहिले व्यक्तिगत पहुँचका आधारमा नेपाली युवा धेरै मुलुक पुगेका छन् । तर, जोखिमपूर्ण रूपमा युवाहरू कसरी पुगे भन्ने आश्चर्यलाग्दो कुरा हो,’ उनले भने । व्यवसायको सिलसिलामा वा व्यक्तिगत कामका कारण त्यस्ता मुलुक नेपाली युवा पुगेका हुन सक्ने उनको अनुमान छ । 

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी नेपाली श्रमिकका लागि कोरिया, जापान, साइप्रस, रोमानिया, इजरायल, क्रोसिया, क्यानडा, अमेरिकालगायतका मुलुक उपयुक्त भएको बताउँछन् । यि मुलुकमा श्रम कानुन पनि राम्रो छ र आप्रवासी कामदारलाई गर्ने भुक्तानी पनि राम्रो छ । निर्माण र कृषि क्षेत्रमा यि देशले आप्रवासी लैजाने गरेका छन् । तर, नेपाल सरकारले यि देशसँग श्रम सम्झौता गरेको छैन । 

श्रम सम्झौता गरिएका मुलुकमध्ये कतार र मलेसियामा पनि नेपाली श्रमिकका लागि राम्रो छ ।  पछिल्लो समय कतार सरकारले आप्रवासी श्रमिकका लागि उद्धार नीति अपनाएको छ । त्यस्तै, मलेसियामा धेरै बहुराष्ट्रिय कम्पनीहरू छन् । त्यसैले यहाँको भुक्तानी राम्रो भएको अध्यक्ष भण्डारीले बताए । दक्ष श्रमिकका लागि मलेसियासँगै  खाडीका सबै मु्लुक राम्रो रहेको उनले बताए । ‘यि मुलुकले श्रमिकलाई कम भुक्तानी गरे पनि दक्ष आप्रवासी श्रमिकको लागि भने धेरै राम्रो सेवा सुविधा र पारिश्रमिक दिने गरेका छन्,’ उनले भने । 

६५ प्रतिशत नेपाली युवा खाडी र मलेसियामा
वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये ६५ प्रतिशत युवा खाडीका विभिन्न मुलुक र मलेसियामा गएका छन् । वैदेशिक रोजगार विभागको विगत १० वर्षको तथ्यांकअनुसार खाडी र मलेसियामा मात्रै ३५ लाख २३ हजार दुई सय ४९ नेपाली युवा गए । सो अवधिमा ५४ लाख ९२ हजार चार सय चार नेपाली युवा रोजगारीका लागि बिदेसिएका छन् । 

खाडीमध्ये कतारमा सबैभन्दा धेरै श्रमिक पुगेको देखिन्छ । विभागको तथ्यांकअनुसार १० वर्षको अवधिमा श्रम स्वीकृति लिएर नौ लाख ४१ हजार आठ सय ९७ श्रमिक कतार पुगेका छन् । त्यस्तै, सात लाख ७९ हजार आठ सय ९८ नेपाली युवा श्रमिक साउदी अरेबिया पुगेका छन् । सोही अवधिमा युनाइटेड अरब इमिरेट्स जानेको संख्या भने पाँच लाख ७५ हजार दुई सय चार छ । एक लाख ४९ हजार ६ सय २४ जना कुवेत पुगेका छन् । ४६ हजार आठ सय ५८ जना ओमान पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै, नौ लाख ९९ हजार ६ सय ८२ जना नेपाली युवा रोजगारीकै लागि मलेसिया पुगेको तथ्यांक छ । 

यो संख्या भनेको विभागबाट श्रम स्वीकृति लिएर जानेको संख्या हो । विभागबाट स्वीकृति नलिईकन अनौपचारिक माध्यमबाट जानेको संख्या भने योभन्दा धेरै रहेको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । ‘अहिले रोजगारीकै लागि युरोप जाने युवा उत्तिकै छन् । तर, युरोप जाने अधिकांश नेपाली युवा अवैधानिक माध्यमबाट जान्छन्,  जसको कुनै तथ्यांक नै छैन,’ उनले भने, ‘यसैगरी खाडी र मलेसिया अवैधानिक रूपमा जाने पनि छन् ।’ 

खाडी र मलेसिया नेपाली युवाको मुख्य श्रम गन्तव्यका रूपमा मानिन्छ । यसका साथै कोरिया र इजरायलमा भने सरकारले आफैँले नेपाली युवा श्रमिक पठाउने गरेको छ । इपिएसका माध्यमबाट कोरिया र केयर गिभरका लागि सरकारले आफूले इजरायल पठाउँदै आएको छ । 

तर, पछिल्लो समयमा खाडी र मलेसियाबाट रोजगारी युरोपतर्फ मोडिएको छ । युरोपियन मुलुकहरूले पनि आप्रवासी कामदारको माग गर्न थालेपछि नेपाली युवाको श्रम गन्तव्य मोडिएको हो । तर, युरोप जाने अधिकांश युवा भने अवैधानिक प्रक्रियामार्फत जाने गरेका छन् । 

विभागको तथ्यांकअनुसार विगत पाँच वर्षमा १२ हजार दुई सय ९६ युवा साइप्रस पुगे । आठ हजार दुई सय ४९ पोल्यान्ड, २४ हजार ६ सय ३६ रोमानिया, चार हजार तीन सय नौ टर्की, १० हजार तीन सय ५२ माल्टा, दुई सय ४८ जर्मनी र एक हजार नौ सय ५२ नेपालीले पोर्चुगल जानका लागि विभागबाट श्रम स्वीकृति लिएका छन् । 

जोखिम मोलेर द्वन्द्वग्रस्त मुलुक समेत पुग्छन नेपाली
रोजगारीका लागि नेपाली श्रमिकहरू अफ्रिकाका विभिन्न मुलुकसमेत पुग्ने गरेका छन् । लामो समयदेखि अफ्रिकामा व्यवसाय गर्दै आएका रामप्रसाद पाध्यायकाअनुसार  सुडान, कंगो, लिबिया, नैरोबी, तान्जानिया, रुवान्डा, युगाण्डालगायतका मुलुकका बैंक, सेक्युरिटी, रेष्टुरेन्टलगायका क्षेत्रमा पनि नेपाली श्रमिक रहेका छन् । नेपाली महिला श्रमिक अवैध बाटो हुँदै अफ्रिकी देशहरू पुग्ने गरेको उनले बताए । उनीहरूलाई डान्सबार तथा रेष्टुरेन्टहरूमा काममा लगाईने गरिएको पाध्यायले बताए । ‘अफ्रिका आफैमा द्वन्द्वग्रस्त  हो । त्यसैले यहाँ श्रमिकको अभाव छ । त्यसैले दक्ष नेपाली श्रमिक मात्रै यहाँ आउँछन्,’ उनले भने । कतिपय नेपालीले अफ्रिकामा नै व्यवसाय गर्ने गरेको उनले बताए  । 

सरकारले नेपाली श्रमिकलाई इराक जान बन्देज लगाएको छ । तर, अवैधानिक बाटो हुँदै इराक पुगेका नेपाली श्रमिकको संख्या पनि धेरै छ । इराकमा अहिले करिब २० हजार नेपाली रहेको गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष विनोद श्रेष्ठले बताए । जसमध्ये ७५ प्रतिशत इराकको कुर्दिस्तान राज्यमा छन् । घरेलु कामदारदेखि व्यवस्थापकीय तहसम्मको काममा नेपाली कामदार रहेको उनले बताए । 

दश वर्षकै उच्च, गत वर्ष पौने आठ लाख गए विदेश
विगत १० वर्षको अवधिमा गत आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा गए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आवमा सात लाख ७१ हजार तीन सय २७ जना नेपाली युवा बिदेसिएका हुन् । 

विभागको तथ्यांकअनुसार गत आवमा मात्रै दुई लाख ५९ हजार पाँच सय ९४ ले श्रम स्वीकृति लिएर मलेसिया गए । त्यस्तै, एक लाख ३३ हजार दुई सय ६२ कतार गए । एक लाख १२ हजार सात सय ७७ जना साउदी अरब गए भने एक लाख १६ हजार एक सय ५९ जना युएई पुगे । ३१ हजार चार सय १० कुवेत, सात हजार ६ सय ९० बहराइन र पाँच हजार दुई सय ९४ जनाले ओमानका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ । 

आव ०७०/७१ मा पाँच लाख १९ हजार ६ सय ३८ जना नेपाली युवा रोजगारीका लागि बिदेसिएको तथ्यांक छ । तत्पश्चात् वैदेशिक रोजगारीमा जानेको संख्या क्रमिक रूपमा घटेको तथ्यांक छ । 

विगत आठ वर्षको प्रयासपछि ०७२ साल असोज ५ मा सरकारले संविधान जारी ग¥यो । यद्यपि, सोही वर्ष महाभूकम्प गयो र भारतले नाकाबन्दी पनि लगायो । यसका बाबजुद पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको देखिन्छ । त्यस्तै, ०७४ सालमा निर्वाचन भयो, स्थायी सरकार बन्यो । स्थायी सरकार बन्ने भएपछि वैदेशिक रोजगारीमा युवाको आकर्षण घटेको देखिन्छ । योसँगै ०७६ सालमा सुरु भएको कोभिड महामारीका कारण सरकारले श्रम स्वीकृति नै बन्द गरिदियो । तर, कोभिडको प्रभाव कम हुँदै गएपछि बिस्तारै बिदेसिनेको संख्या पनि बढ्दै गयो । 

युद्धग्रस्त देश रुसको सेना बन्न नेपाली युवाको मरिहत्ते
रुस–युक्रेन युद्ध निरन्तर छ, तर नेपाली युवाको रुस यात्रा रोकिएको छैन । गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष केशव तिमिल्सिनाका अनुसार हाल रुसमा अनुमानित २० हजार नेपाली छन् । नेपालीहरू श्रम, अध्ययन र व्यवसायका लागि रुस जान्छन् । पछिल्लो समय त युद्ध मैदानमा होमिनका लागि पनि जान थालेका छन् । 

आकर्षक तलब र त्यहाँको नागरिकता पाइने आसमा नेपाली युवा रुसी सेनामा होमिने क्रम बढेको छ । सरकारले युद्धग्रस्त मुलुकमा नजान सचेत गराउँदा–गराउँदै पनि युवाहरू त्यहाँ पुगेर बन्दुक बोक्ने उद्देश्यसहित दलाललाई लाखौँ रकम बुझाई अवैध रूपमा जाने गरेका छन् । पछिल्लो समय मात्रै रुसी सेनामा रहेका ६ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । रुसी सेनामा एक वर्ष काम गरेपछि त्यहाँको नागरिकता पाउने व्यवस्था छ । हजारभन्दा बढी नेपालीले रुसको नागरिकता लिइसकेका छन् । तर, रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन नभएको तिमिल्सिनाले बताए । 

‘युद्धकै कारण रुस जाने नेपालीको संख्यामा कुनै कमी छैन, बरु रुसी सेनामा भर्ती हुने नेपाली युवा बढिरहेको देखिन्छ,’ तिमिल्सिनाले भने, ‘नेपालीले युरोप प्रवेशका लागि पनि रसियाको बाटो प्रयोग गर्ने गरेका छन् । त्यसका लागि भिजिट भिसामा जाने गर्छन् ।’ उनका अनुसार रुसमा नेपालीहरू सेनाबाहेक कम्पनी म्यानेजर, कुक, टुरिस्ट गाइड, वेटरलगायत पेसामा छन् ।

रुसका लागि नेपाली राजदूत डा. मिलनराज तुलाधरले त्यहाँ वर्किङ र स्टुडेन्ट भिसामा करिब हजार नेपाली रहेको अनुमन गरिए पनि कुन भिसामा कति रहेको, सेनामा कति रहेको भन्ने यकिन नभएको बताए । अहिले आफूहरू युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्तिका लागि प्रयासरत रहेको राजदूत तुलाधरले बताए । 

उता युक्रेनमा युद्ध सुरु हुनुभन्दा अघि अनुमानित ६ हजार नेपाली थिए । युद्धका वेला उनीहरू युरोपका विभिन्न मुलुक गएको गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार हाल युक्रेनमै बिहेवारी गरेर बसेका दुई सय नेपाली रहेको अनुमान छ ।