१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई नेपालको सुझाव– फित्ता काट्ने काम कम गर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राज्य सञ्चालनका काममा केन्द्रित हुन आग्रह गरेका छन्।

समाजवादी प्रेस संगठन कास्की जिल्ला समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले घुमाउरो पारामा प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाए। नेपालले प्रधानमन्त्री दाहाललाई फित्ता काट्ने काम कम गर्न सुझाव दिएका छन्।

‘प्रधानमन्त्रीको व्यस्ततालाई हामीले बुझ्दछौँ। त्यसका बाबजुद हामीले प्रधानमन्त्रीलाई भन्ने गरेका छौँ– आफ्नो समय बढी फित्ता काट्ने कुरामा लगाउने, अनावश्यक मानिसहरूको ताँतीलाई भेट्ने गर्नुभन्दा विषयमा केन्द्रित भएर राज्य सञ्चालनका कुरामा समय व्यवस्थापन गर्नुस्,’ उनले भने।

अध्यक्ष नेपालले देशको अर्थतन्त्र सहज नभएको भन्दै चित्त बुझाउने अवस्थामा समेत नरहेको जिकिर गरे। उनले भने, ‘अहिले देशको अर्थतन्त्रको अवस्था सहज छैन, यसलाई अलग–अलग ढंगले हेर्न र परिभाषित गर्ने गरिएको छ। तर, काम चलाउ छ भनेर चित्त बुझ्ने ठाउँ पनि देखिँदैन।’

‘एनसेलमा नांगो भ्रष्टाचार’
पत्रकारहरूको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष नेपालले एनसेलको सेयर खरिद-बिक्रीमा नांगो भ्रष्टाचार भएको दाबी गरे। यसमा बदमासी गर्ने कसैलाई छाड्न नहुने भन्दै उनले सेयर खरिद-बिक्रीमा डकैती भएको बताए।

यसमा संलग्न कसैलाई छाड्न नहुने भन्दै उनले ६ वर्षपछि नेपाललाई हस्तान्तरण गर्नुपर्नेमा त्यसलाई पन्छाउन पुरानो कानुन लागू हुँदैन भनेर षड्यन्त्र गरिएको जिकिर गरे।

फरक प्रसंगमा नेपालले वर्तमान सत्तागठबन्धन पाँच वर्ष टिक्ने दोहोर्‍याए। सत्तागठबन्धनमा संलग्न दलहरूले सरकार र नीति तथा योजना आयोगमा भागबन्डा गर्ने सहमति भए पनि गण्डकी प्रदेशमा लागू नभएको भन्दै असन्तुष्टि जनाए।

ललितानिवास जग्गा प्रकरणमा आफ्नो संलग्नताबारे प्रश्न गर्दा अध्यक्ष नेपालले प्रमाणित गरेर देखाउन चुनौती दिए।