
कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदका लागि सिफारिस गरेका चारजनाको नाम निर्वाचन आयोगले सूचीबाट हटाएको छ । गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम निर्वाचन आयोगले सूचीबाट हटाएको हो ।
समानुपातिकको सूचीबट यी चारजनाको नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थियो । कांग्रेस सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार निर्वाचन आयोगमा निवेदन दिई श्रेष्ठ, ढुंगाना, सतार र पाण्डेको नाम समानुपातिक सूचीबाट फिर्ता लिइएको बताए ।
उनले फिर्ताको प्रयोजन भने खुलाएनन् । यद्यपि, सूचीमा नाम रहिरहँदा अन्यत्र अवसर पाउनबाट वञ्चित हुने तर्क गरे । ‘केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै नाम फिर्ता लिइएको हो । यही प्रयोजन भन्ने होइन । तर, सूचीमै रहँदा अन्यत्र अवसर पाउन सकिने अवस्था रहँदैन,’ दुलालले नयाँ पत्रिकासँग भने ।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निवेदन आएकाले वेटिङ लिस्टमा रहेका चारजनाको नाम सूचीबाट हटाउने निर्णय भएको बताए । ११ माघमा राष्ट्रिय सभा निर्वाचन मिति घोषणा भएपछि कांग्रेसले नाम सूचीबाट हटाएको हो । सूचीमा नाम समावेश भएकाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।