
परराष्ट्रमन्त्री एनपी साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना गराउने सरकारको नीति नभएको प्रस्ट पारेका छन्।
शुक्रबार संसदीय सुनुवाइ समितिमा जवाफ दिँदै मन्त्री साउदले भर्ना भएका नेपालीलाई फिर्ता गराउन रुस सरकारलाई अनुरोध गरिएको बताए।
‘रुस सरकारले हाम्रो राजदूतसँग संवाद गरेको छ,’ उनले भने, ‘भर्ना गराउने सरकारको नीति छैन। दिवगंत व्यक्तिलाई फिर्ता गराउन र क्षतिपूर्तिका लागि भनिएको छ।’
परराष्ट्रमन्त्री साउदका अनुसार नेपालीहरू केही विद्यार्थी भिसामा तथा केही भिजिट र वर्किङ भिसामा रुस गएका देखिएको छ।
युद्धमा सामेल भएकामध्ये दुई नेपाली युक्रेनमा बन्दी बनाइएका उल्लेख गर्दै उनले दिल्ली दूतावासबाट युक्रेन दूतावाससँग संवाद भइरहेको र बर्लिन दूतावासमार्फत समेत पहल भइरहेको जानकारी दिएका छन्।
विपिन जोशीको रिहाइका लागि समेत पहल भइरहेको साउदले बताए। उनले भने, ‘भोलि बिहान मात्रै दोहा फोरममा भाग लिन कतार जाँदै छु। हमाससँग सहजीकरण गरिरहेका मन्त्रीसँग कुरा राख्नेछु। सरकारले आफ्नोतर्फबाट सबै पहल गरिरहेको छ।’