१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २२ शनिबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेनीको युद्धपोल १३ वर्षपछि फिर्ता

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४३:oo

२०६० चैतको बेनी भिडन्तको साक्षी युद्धपोल १३ वर्षपछि फिर्ता भएको छ। सशस्त्र संघर्षरत तत्कालीन माओवादी र सरकारी सेनाबीच बेनीमा भएको भिडन्तको साक्षी बनेको युद्धपोललाई बिहीबार काठमाडौंबाट म्याग्दी फिर्ता ल्याइएको हो।

२०६० चैत ७ गते तत्कालीन नेकपा माओवादीले बेनीमा आक्रमण गर्दा सरकारी सेना र माओवादी लडाकुबीच दोहोरो गोली हानाहान हुँदा सयौँ गोली लागेर छियाछिया भएको बिजुलीको पोल २०६७ असोज २१ गते काठमाडौंमा लगिएको थियो।

काठमाडौंस्थित मदन पुरस्कार पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रमा राखिएको युद्धपोललाई बिहीबार म्याग्दी फिर्ता गरिएको हो। मदन पुरस्कार पुस्तकालयलाई बेनी नगरपालिकाबाट भएको लिखित पत्राचार र औपचारिक भेट गरी भएको आग्रहबमोजिम उक्त पोल फिर्ता भएको हो।

यालमाया केन्द्रको आँगनमा गाडेर राखिएको युद्धपोललाई उक्काएर मदन पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले बेनी नगरपालिकाका नगर प्रहरी हवल्दार शंकर पौडेललाई उक्त युद्धपोल हस्तान्तरण गरेका हुन्। जिल्लाबाट भएको निरन्तरको पहलले युद्धपोल फिर्ता आएको र यसलाई बेनीमा युद्ध स्मारकका रूपमा संरक्षण गरिने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिए।

बेनी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि केसीले युद्धपोललाई बेनीमा ल्याएर संरक्षण गर्ने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए। नगरपालिकाले बेनीको वीरेन्द्रचोकनजिकै शान्ति पार्क बनाउने तयारी गरेको छ। पार्कमा युद्धका अवशेषहरूलाई युद्ध स्मारकका रूपमा संकलन गर्ने र संरक्षण गरेर राख्ने बताइएको छ।

बेनीबाट मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेकअगाडि रहेको पोल बेनी भिडन्तमा दोहोरो गोली हानाहान हुँदा छियाछिया भएको थियो। बेनी आक्रमणको साक्षी बनेको युद्धपोल जिल्लामा कुनै छलफल र निर्णय नगरी रातारात काठमाडौं पुर्‍याएपछि जिल्लामा यस विषयमा निरन्तर बहस, छलफल र फिर्ताको लागि पहल हुँदै आएको थियो।

पोल फिर्ताका लागि बेनी नगरपालिकाका साथै जिल्ला समन्वय समिति र धौलागिरि पर्यटन परिषद्ले समेत निरन्तर ताकेता गर्दै आएका थिए। 

ad
ad