१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 10 May, 2025
२o८o मङ्सिर २१ बिहीबार १४:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जलवायु परिवर्तनका कारण बालविवाहमा ३९ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १४:२१:oo

अन्तर्राष्ट्रिय उद्धार समिति (आइआरसी)ले बुधबार सार्वजनिक गरेको अध्ययनले बंगलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ।

अत्यधिक प्रकोप तथा जलवायु संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। 

बंगलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबर्जस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैंगिक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीहरूलगायतका कारणले बालविवाह गर्न बाध्यता सिर्जना भएको आइआरसीले उल्लेख गरेको छ।

अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको वृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ।

यस्ता विभिन्न किसिमका कारणहरू सिर्जित समस्याहरूलाई सम्बोधन गर्न आइआरसीले विकसित स्थितिको मूल्यांकन गरिरहेको र जलवायु परिवर्तन र जलवायुप्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुन सक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन  उपलब्ध स्रोतसमेत परिचालन गरिरहेको बताएको छ। 
  
आइआरसीका लागि बंगलादेशकी निर्देशक हसिना रहमानले भनेकी छिन्, ‘आज बंगलादेशमा विवाहयोग्य उमेर हुँदै गरेका आधा केटीहरूको १८ वर्ष नपुग्दै विवाह हुने गरेको पाइएको छ। यस्तै, २२ प्रतिशत केटीहरूको १५ वर्षको उमेरअघि नै विवाह हुने गरेको पाइएको छ।’  

उनका अनुसार खाद्य असुरक्षा र गरिबी, अनियमित वर्षाको ढाँचा, बढ्दो तापक्रम र बढ्दो आवृत्ति र प्रकोपहरूको तीव्रताको सामना गरिरहेका तटीय क्षेत्रहरूमा बस्ने केटीहरूका लागि यो अवस्था अझ बढी अस्थिर र दर्दनाक छ। 
 
यसैबीच आइआरसीले जलवायु परिवर्तन सिर्जित समस्याहरूलाई सम्बोधन गर्न दिगो कोष स्थापना गर्न र यस जटिल संकटलाई सम्बोधन गर्न सरकार, दाताहरू र गैरसरकारी संस्थाहरूबाट तत्काल सहयोगका लागि आह्वानसमेत गरेको छ।