Skip This
धनगढीमाईको नयनपुर अस्पतालमा डिजिटल एक्स-रे सेवा सञ्चालन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २० बुधबार ११:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीमाईको नयनपुर अस्पतालमा डिजिटल एक्स-रे सेवा सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार ११:५४:oo

सिराहाको धनगढीमाई नगरपालिकाले आफ्नै स्वामित्वमा चलाइरहेको नयनपुर नगर अस्पतालमा सोमबारदेखि अत्याधुनिक डिजिटल एक्स-रे सेवा सञ्चालन गरेको छ। 

२०औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको सन्दर्भ पारेर नगरपालिकाले ९ नं. वडास्थित नयनपुर नगर अस्पतालमा डिजिटल एक्स–रे सेवा सञ्चालन थालेको हो। 

नगरवासीको आधारभूत स्वास्थ्य सेवामा एक्स-रे सेवा सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख शिवशंकर महतोले बताए। आफ्नै ठाउँमा आधुनिक डिजिटल एक्स-रे सेवा सञ्चालन भएपछि न्यूनतम् शुल्कमा सेवा पाउने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। 

१९ असार २०७६ सालमा विधिवत् स्थापन गरी नगरपालिकाले आफ्नै स्राेत साधनमा सञ्चालन गरिरहेको अस्पतालमा इमर्जेन्सी, ओपिडी, ल्याब, एम्बुलेन्स, बर्थिङ र सुरक्षित गर्भपतनको सेवा सञ्चालन गरिरहेको सामाजिक विकास समिति संयोजकसमेत रहेका धनगढीमाई– ९ का वडाध्यक्ष प्रकाश योञ्जनले बताए। 

गर्भवतीलाई ल्याब र एम्बुलेन्स निःशुल्क

नगर क्षेत्रका १४ वडाका जुनसुकै गाउँका गर्भवतीलाई अस्पतालसम्म आउन र ल्याब जाँच निःशुल्क गरिने वडाध्यक्ष योञ्जनले उल्लेख गरे। 

उनका अनुसार नगरको हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नगर क्षेत्रका गर्भवती महिलालाई अस्पतालसम्म आउन र ल्याब जाँच निःशुल्कसहित एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ। 

सिराहाका अन्य स्थानीय तहको तुलनामा धनगढीमाईले नगर स्वास्थ्य ऐन बनाएर आफ्नै स्वामित्वमा अस्पताल सञ्चालन गरेपछि महँगो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्य गरिब, विपन्नहरुलाई राहत पुगेको उनले बताए। 

नगरको मध्यभागमा पर्ने नयनपुर अस्पतालले नगरको उत्तरी क्षेत्रका अमले, चट्टान, हात्तीढुंगा, दलमे, बिहीबारे, सर्रे अम्बास, खुट्टी, महाजनी, मड्यान, जरायोटार, गडम्मे, पूर्व-पश्चिम सडक आसपासका गाउँहरू कसहा, सिम्राहा, फूलकहाकट्टी, भवानीपुर, मेदिनीपुर, जयपुरलगायतका एक दर्जनभन्दा बढी गाउँका बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको नगर स्वास्थ्य शाखाले जनाएको छ। 

कडा रोगका बिरामीला पाँच हजार

नगरको स्वास्थ्य शाखामार्फत् अति कडा  रोग मानिने क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका, नियमित डाइलासिस गर्नुपर्ने बिरामी, मेरुदण्डको पक्षघातका बिरामीहरूलाई आर्थिक वर्ष ०७९/८० देखि मासिक औषधाेपचार सहयोगबापत् एकपटकका लागि पाँच हजार रुपैयाँ दिइरहेको स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिए। 

जनार्दन शर्मा अर्थमन्त्री भएका वेला कडा रोगका बिरामीहरूलाई मासिक पाँच हजार रुपैयाँ दिइने भनिए पनि स्थानीय तहलाई बजेट उपलब्ध नगराएपछि नगरपालिकाले आफ्नै स्राेतबाट रकम उपलब्ध गराउँदै आएको उनले बताए।