१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका न्यूयोर्क
२o८o मङ्सिर १९ मंगलबार १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तस्करी भएका पुरातात्विक मूर्ति अमेरिकाद्वारा नेपाललाई फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १४:o९:oo

विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरूले अमेरिका पुर्‍याएका चारवटा पुरातात्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ। 

न्युयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत ती मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। 

१६औँ र १७औँ शताब्दीका नेपालका पुरातात्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो। जसमा दुईवटा भैरवका रहेका छन् भने शिव–पार्वती (उमा–महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति छन्। 

न्युयोर्कका जिल्ला न्यायाधिवक्ता एल्बिन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स, न्युयोर्क र गृह मन्त्रालयका अधिकारीहरूले कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरेका हुन्। 

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याइएका नेपालका पुरातात्विक वस्तुहरू फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्युयोर्कले अनुरोध गरेको थियो।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटकपटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। 

कार्यवाहक महावाणिज्यदूत गौतमले नेपालको पुरातात्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरूलाई विशेष धन्यवाद व्यक्त गरे। उनले सांस्कृतिक कलाकृतिहरूको अवैध ओसारपसारविरुद्धको लडाइँमा सधैँ साथ दिने बताए।

जिल्ला न्यायधिवक्ता ब्रागले आफूहरूले पुरातात्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरूको खोजीका लागि सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि महावाणिज्य दूतावासको पहलमा १०औँ शताब्दीदेखि १७औँ शताब्दीका १६ वटा पुरातात्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ। प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी महावाणिज्य दूतावासले छिट्टै नेपाल पठाउने बताएको छ।