Skip This
रुसी सेनामा रहेका ६ नेपालीको मृत्यु, एकजना युक्रेनमा बन्दी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १८ सोमबार १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुसी सेनामा रहेका ६ नेपालीको मृत्यु, एकजना युक्रेनमा बन्दी

रुसी सेनामा भएका अरूलाई नेपाल फर्काउन रुसलाई आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १७:४२:oo

परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको र एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेको जानकारी दिएको छ।

रुसले परराष्ट्रलाई यो जानकारी पठाएको परराष्ट्रले जनाएको छ। यसअघि रुसस्थित नेपाली दूतावासले तीनजना नेपालीहरूको मृत्यु भएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको थियो।

परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार रुसी सेनामा कार्यरत गोर्खाका सन्दीप थपलिया, वाणगंगा– १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, पुतलीबजार स्याङ्जाका पितम कार्की, मेलुङ गोरखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो।

‘नेपाल सरकारले रुसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ,’ परराष्ट्रले भनेको छ। नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।

परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। उनलाई  नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ।

‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)लिएर मात्र यात्रा गर्नु हुन सर्सावधारण सबैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’ परराष्ट्रले भनेको छ, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनः हार्दिक अनुरोध गर्दछ।’

परराष्ट्रले गत साउन १६ गते विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जानकारी गराइसकेको पनि पुनः स्मरण गराएको छ।